प्रदेश २ प्रदेशसभाको अधिवेशन बोलाइयो



जनकपुरधाम । प्रदेश २ मा प्रदेश सभाको आठौं अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी मंसिर २९ गते बिहान ११ बजेका लागि आठौं अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।
उनका अनुसार सरकारको सिफारिसमा भएको प्रदेशसभा अधिवेशन आव्हानको पत्र प्रदेश प्रमुखले पठाएको पत्र प्राप्त भएपछि बैठक आह्वान गरिएको हो ।
अब बस्ने प्रदेशसभाको आठौँ अधिवेशनमा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लाउने प्रदेश सरकारले तयारी गरेको छ ।
प्रदेश सरकार शिथिल हुँदा डेढ वर्षदेखि निरन्तर प्रदेशसभा बैठक बस्न सकेको छैन । पछिल्लो समय कानुन निर्माणमा सुस्त सरकार अध्यादेशबाट काम अगाडी बढाउने गरेका छन् ।
चार दलीय गठबन्धनको प्रदेश २ मा सरकार बनेपछि पहिलो पटक प्रदेश सभाको अधिवेशन डाकिएको हो ।
प्रदेश २ को नामकरण र राजधानीको अझै पनि टुंगो लाग्न सकेको छैन । प्रदेश २ सरकारलाई दुई तिहाइभन्दा बढी सांसदको समर्थन हुँदा पनि यी दुई विषय अल्झिएका छन् । सरकारमा सहभागी दलबीच नाम र राजधानीबारे अझै सहमति भएको छैन ।
यसअघि प्रदेशको नाम र राजधानीबारे सभामुख सरोज कुमार राय यादवले सातौँ अधिवेशनमा सरकारलाई रुलिङ गरेका थिए ।
प्रदेशको नामकरण र राजधानी तोक्न प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको प्रस्ताव एक पटक असफल भएको थियो ।
प्रदेश सरकारको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले नाम मधेस प्रदेश र जनकपुरधाम राजधानी प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्