गोलाप्रथाबाट पेसी तोक्न सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै



काठमाडौँ : सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे छलफल गर्न आज (बिहीबार) फूलकोर्ट बैठक बस्दै छ। बुधबार बसेको असन्तुष्ट न्यायाधीशहरुको बैठकले आज फुलकोर्ट बोलाउने र मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय गरेका थिए। अघिल्लो साता फूलकोर्टले सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका पास गरेको थियो । राजपत्रमा प्रकाशित भएको संशोधित नियमावलीमा फुलकोर्ट बसेर मिति तोक्ने भनेकाले उनीहरुले सामूहिक बैठकबाट यस्तो निर्णय गरेका हुन्।

मंसिर १५ गतेदेखि नै गोलाप्रथा लागू गर्ने निर्णय गर्न फूलकोर्ट बस्न लागेको जनाइएको छ।  दिउँसो २ बजेका लागि तय गरिएको छ । गोला प्रक्रियाद्वारा इजलास गठनका लागि प्रशासनिक र प्राविधिक तयारी भने पूरा भइसकेको छ। उक्त नियमावलीमा सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गर्दै पेसी तोक्ने व्यवस्था प्रधानन्यायाधीशले नभएर ‘पेसी व्यवस्थापन निर्देशन समिति’ले गर्ने व्यवस्था गरिएको छ।

प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् । जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायायाधीशहरु र कानून व्यवसायीहरु उनीविरुद्ध उत्रिएका थिए । गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किए पनि जबराको नेतृत्व भने नस्वीकार्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्