महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष ओली चितवन पुगे



चितवन : पार्टीको दशौँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । महाधिवेशनका लागि अध्यक्ष ओली बिहीबार विहान ११ बजे भरतपुर पुग्ने कार्यक्रम रहेपनि उनी दिउँसो साढे १ बजे मात्रै चितवन पुगेका हुन्।

एमालेको महाधिवेशन भोलि (शुक्रबार) नारायणी नदी किनारमा उद्‌घाटन हुँदैछ। महाधिवेशन १२ गतेसम्म चल्ने एमालेले जनाएको छ।ओलीलाई भरतपुर विमानस्थलमा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्। विमानस्थलमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिएर ओली सौराह प्रस्थान गरेका छन्। उनले सौराहमा आराम गर्नेछन्।

त्यसपछि उनी महाधिवेशनस्थल अवलोकनका लागि जाने नेताहरूले बताएका छन्। एमालेको महाधिवेशनको लागि प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ। सौराहा र भरतपुरमा अहिले एमालेका धेरै नेताहरू बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्