काठमाडौँलगायत बाँकी ४२ जिल्लामा आजदेखि जिल्ला अधिवेशन गर्दै कांग्रेस



काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि जिल्ला अधिवेशन सुरु हुँदैछ। वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका २ भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन सुरु गर्न लागेको हो। काठमाडौँलगायत विभिन्न ४२ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरू गर्ने कांग्रेसको तयारी छ। एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा भने सोमबारदेखि नै जिल्ला अधिवेशन सुरु गरिएको थियो।

अधिकांश जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ। काठमाडौँ , काभ्रेलगायत केही जिल्लामा भने सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको संयुक्त प्यानल बनेको छ। काठमाडौंमा नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा पक्षले संयुक्त रूपमा प्यानल बनाएका छन्। काठमाडौँमा सिंहथापा पक्षबाट अहिलेका सभापति कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीबीच सभापतिमा प्रतिस्पर्धा हुने भएको छ।

चितवन, मकवानपुरलगायत जिल्लामा भने अधिवेशन केही पर सारिएका छन्। प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या हुने हुँदा पछि जिल्ला अधिवेशन गर्ने तयारी छ। चितवनमा भने आज एमालेको महाधिवेशन भएकोले कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ। कांग्रेसले यही मंसिर १६ देखि १७ सम्म प्रदेश अधिवेशन गर्दैछ। विराटनगर, जनकपुरधाम, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा प्रदेश अधिवेशन हुनेछन्। कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १२६ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि सकेको छ। प्रतिनिधि सभा क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि २६ जनाका दरले प्रतिनिधि आउँछन्।

एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा मंसिर ६ मा जिल्ला अधिवेशन भएको थियो। त्यसअघि १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन सकिएका थिए। धनकुटामा भने सहमतिमै अधिवेशन गर्ने भन्दै ढिलाइ भइरहेको छ। केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मंसिर १२ भित्रै अधिवेशन गर्न धनकुटालाई पत्र पठाइएको बताए। रसुवामा पनि अधिवेशन अघि बढेको छैन। त्यहाँ केन्द्रीय निर्वाचन समितिले बिहीबार नयाँ मतदान अधिकृत खटाएको छ।

पर्सा, सर्लाहीलगायतमा पनि अधिवेशनका काम अगाडि बढेका छैनन्। कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।केन्द्रीय महाधिवेशनका लागि मतदाता रहेका महाधिवेशन प्रतिनिधि चयन अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्