महिला टी–ट्वान्टी विश्वकप छनोट : नेपाल र मेलेसिया भिड्दै



काठमाडौँ : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध खेल्दै छ । नेपाल र मलेसियाको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११:१५ बजे सुरु हुनेछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले मलेसियाविरुद्ध जित हात पार्नुपर्ने हुन्छ । सन् २०१९ मा भएको दुई भेटमा नेपालले मलेसियालाई हराएको थियो ।

नेपाल त्यस जितलाई कायम राख्न चाहन्छ । मलेसिया भने नेपालसँग यस अघि व्यहोरेको हारको बदला लिन चाहन्छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । यस्तै नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ ।

मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्