अपर तामाकोशीको आईपिओमा ६ अर्ब २४ करोड बढीको आवेदन



काठमाडौं : अपर तामाकोशी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आइपीओ) मा उत्साहजनक आवेदन परेको छ ।  कम्पनीले कात्तिक १४ गतेदेखि निष्काशन गरेको आइपीओमा आज अन्तिम दिन सोमबार बेलुका ५ बजेर २० मिनेटसम्ममा ६ अर्ब २४ करोड ७३ लाख ४२ हजारको आवेदन परेको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ।    

सोमबार ५ बजेर २० मिनेटसम्ममा ३ लाख २३ हजार ८ सय २२ आवेदकले आवेदन गरेको र बैंकहरुले आज राती १२ बजेसम्म आवेदन सिस्टममा इन्ट्री गर्न मिल्ने भएकोले यो संख्या अझै बढ्ने कोषले जानकारी दिएको छ । 

यसअघि स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरेको अपर तामाकोशीले अहिले सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्रि खुला गरेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने थिए । 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८ प्रतिशत, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ। 

प्रतिक्रिया दिनुहोस्