थप उपचार गर्न माओवादी केन्द्रका नेता वर्षमान पुनलाई चीन लगियो



काठमाडौँ : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बैंककबाट चीन लगिएको छ। जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगिएको हो।

पुनलाई थप उपचारका लागि चीन लगिएको उनका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिएका छन्। नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन्। उनीहरू आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईंले जानकारी दिए। समितिभेज अस्पतालका चिकित्सकले यहाँ भन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए।

काठमाडौंबाट बैंकक लैजाँदा जन्डिस (बिलरुविन) को तह १८ रहेकामा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ। जन्डिससँगै शरीरका अन्य अंगमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानुपरेको चापागाईंले बताए। जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक गएका थिए।

प्रतिक्रिया दिनुहोस्