उदघाटन समारोहमा ६ नेताकाे सम्बोधन, पाँच महिनापछि ओली र देउवाबीच भेट हुँदै



काठमाडौँ : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा ६ जना नेताहरुले सम्बोधन गर्ने भएका छन् । महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेपछि कार्यक्रम करिब चार घण्टासम्म चल्ने भएको छ। एमालेले मध्यहान्ह साढे १२ बजे सुरु गरेर साढे ४ बजे उद्घाटन कार्यक्रम सक्ने योजना बनाएको छ। नारायणी नदी किनारमा भइरहेको एमाले महाधिवेशनको उदघाटन समारोहमा अहिलेसम्म ६ नेताले सम्बोधन गर्ने टुंगो लागेको हो ।

उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने टुंगो लागेको छ । उदघाटन समारोहमा अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना मन्तव्य राख्नेछन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्ने टुंगो लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

पाँच महिनापछि देउवा र ओलीबीच हुँदै छ भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच पाँच महिनापछि भेटवार्ता हुँदैछ। त्यो पनि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा। असार २८ गते सर्वोच्च अदालतको परमादेशमार्फत ओली नेतृत्वको सरकार हटेपछि देउवा प्रधानमन्त्री चयन भएका थिए।

ओलीले देउवा नेतृत्वको सरकारलाई जनादेशबाट नभएर अदालतको परमादेशबाट बनेको बताउँदै आएका छन्। त्यसैले पनि आजको उद्घाटन समारोहमा देउवाले राजनीतिक विषयमा बोल्लान् वा के गर्लान् भन्ने चासो बनेको छ। देउवा प्रधानमन्त्री भए यता दुई नेताबीच भेटवार्ता भएको छैन। ओली देउवाको सपथ ग्रहणमा पनि सहभागी भएका थिएनन्। प्रमुख प्रतिपक्षी दलसँग संवादहिनताको अवस्था भएको बेला आजको उद्घाटनसत्रमा सहभागी भएरै देउवाले मिलेर जानुपर्ने सन्देश दिन खोजेको हुन सक्ने विश्लेषण गरिएको छ।

सत्ता गठबन्धनमा रहेका दलमध्ये नेकपा एकीकृत समाजवादीलाई एमालेले महाधिवेशनमा निम्तो नै दिएको छैन। नेकपा माओवादी केन्द्रका अध्यक्ष नआउने निश्चित देखिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने आउने तय भएको एमालेले जानकारी दिएको छ। त्यस्तै विदेशबाट समेत नेताहरु महाधिवेशनमा शुभकामना दिन आउने एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्