प्रधानन्यायाधीशबारे गठबन्धनका दलसँग सल्लाह गरेर छिट्टै निकास निकाल्छु : प्रधानमन्त्री देउवा



काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई लिएर जारी विवादको निकास छिट्टै निकाल्ने आश्वासन दिएका छन् । नेपाल बार एसोसिएसनसँग शुक्रबार बिहान छलफल गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताएका हुन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा जारी आन्दोलनका विषयमा बारले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ । बारको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने १७ वटा कारण प्रस्तुत गरे पनि दलको मौनताले प्रधानन्यायाधीश निरङकुश बन्ने बाटोमा लागेको भन्दै ध्यानाकर्षण गराएको हो । नेपाल बारका महासचिव लिलामणि पौडेलले कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्रीले बताएको जानकारी दिए ।

‘प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनममा रहेका दलहरूसँग सल्लाह गरेर छिट्टै निकास हुने कुरामा विश्वास दिलाउन चाहन्छु भन्नुभएको छ,’ पौडेलले भने । बारले प्रधानन्यायाधीशलाई लिएर उठाएका विषयमा आफू जानकार रहेको प्रधानमन्त्रीले बताएको पनि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीशको बहिर्गमनको विकल्प नभएको कुरा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले राखेको पौडेलले बताए । ‘हामीले अब उहाँको बहिर्गमनको विकल्प छैन, उहाँ बाहिरिनुपर्छ भनेका थियौं ।

प्रधानन्यायाधीशको बहिर्गमनका लागि भूमिका निर्वाह गर्नका लागि कार्यपालिका प्रमुखको हैसियतले भूमिका खेल्न पनि आग्रह गरेका छौं,’ उनले भने । “प्रधानन्यायाधीशलाई के कारण हटाउनु आवश्यक छ भनेर हामीले कारणसहित प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गरार्यौं,” भेटपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, “प्रधानमन्त्रीज्यूले त्यस विषयमा सत्ता गठबन्धनभित्र छलफल गरेर प्रतिक्रिया दिने भन्नुभएको छ ।” प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबाटै निर्णय गरेर प्रधानन्यायाधीशलाई हटाउन आवश्यक भएको भन्दै यसबारे तयारी गर्नु उपुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्