छ महिनामा १ लाख ६७ हजार वढी नेपाली वैदेशिक रोजगारीमा



काठमाडौं । विगत छ महिनामा १ लाख ६७ हजार वढी नेपाली बैदेशिक रोजगारीमा गएका छन् । विश्वभर फैलिएको कोरोना महामारी कम भएपछि रोजगारीमा जाने नेपालीको संख्या पनि बढ्दै गएको हो । जसअनुसार साउनदेखि पुससम्म १ लाख ६७ हजार ५ सय १३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

तत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ११ गुणा बढी हो । २०७७ को साउनदेखि पुससम्म १५ हजार ४९ जनाले मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो ।

साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या २९८.१ प्रतिशतले बढेर १ लाख ३० हजार २ सय १२ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या फेरि बढ्न थाले पनि रेमिट्यान्स आप्रवाह भने गत साउनयता लगातार घटिरहेको छ । यो अवधिमा हुन्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरु सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्