युक्रेनबाट ३०२ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो



काठमाडौं । रुस-युक्रेन द्वन्द्व प्रभावित क्षेत्रबाट ३०२ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । युक्रेन समेत हेर्ने जिम्मेवारी पाएका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतका देशमा नेपालीलाई सारिएको जानकारी दिएका हुन् ।

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलवार साँझ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समितिका अनुसार मंगलवारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् ।

यसअघि समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले रुसमा रहेका नेपालीहरुले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसँग सम्पर्क रहेको जानकारी दिएका थिए । उनले एनआरएनए पोल्याण्डको सक्रियतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जानकारी दिए ।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किभमा रहेका सबै नेपालीहरुले युक्रेन छोडेको बताए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विधार्थीहरु चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । पश्चिमी मुलुकहरुले रुसी हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संसय थपिएको बताए ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा। बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जनाए । सुवेदीले युक्रेनमा रहेका नेपालीहरुको संख्या सोचे भन्दा अझ बढी हुनसक्ने समेत बताए । समितिका सदस्य सचिव चिरन्जीबी खड्काले अत्याधिक चिसोका कारणले युद्ध पीडित नेपालीहरु थप समस्यामा रहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्