बायोपिक नगर्ने मुडमा रणवीर सिंह



काठमाडौं । भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘८३’ ले राम्रो व्यपार गर्न सकेन । हिन्दीसँगै तामिल, तेलुगुलगायतका भाषामा रिलिज भएको फिल्मले दर्शकको साथ पाएन । कवीर खानले निर्देशन गरेको फिल्ममा सन् १९८३ का भारतीय क्रिकेट टिमले जितेको विश्वकपको इभेन्टमा आधारित रहेर बनेको छ ।

भारतीय क्रिकेट टिमलाई कप्तान कपिल देवले विश्वकप जिताएका थिए । फिल्ममा रणवीरले कपिल देवको भूमिका निभाएका छन् भने दीपिकाले कपिल देवकी पत्नी रोमी भाटियाको भूमिका निभाएकी छिन् ।

पंकज त्रिपाठी फिल्ममा भारतीय त्रिकेट टिमका कोचको भूमिकामा देखिएका छन् । यीबाहेक फिल्ममा ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशान्त दहिया, साहिल खट्टर, अम्मी विर्क, अदिनाथ कोठारे, धैर्य करवा आर बद्रीलगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले राम्रो कमाइ नगरेपछि रणवीरले बायोपिक फिल्ममा काम नगर्ने सोच बनाएका छन् । उनलाई अफर भएको मेघना गुल्जारको एक बायोपिकसमेत उनले नकारेका छन् । यसबाहेक उनले अन्य बायोपिकको कथा सुन्नसमेत नचाहेको खबर भारतीय मिडियामा छ । रणवीरका एक नजिकका सदस्यले यसलाई प्रस्ट्याउँदै अब उनले बायोपिक फिल्म नगर्ने मनसाय बनाएको जनाए ।

‘रणवीरलाई पहिलोपटक कपिल देव लुक्समा देखाउँदा निकै चर्चा भयो । यद्यपि, फिल्म हलमा आउँदा त्यसको कमाल देखिएन । फिल्मलाई क्रिटिक्सले राम्रो भने तर दर्शक आएनन् । त्यसैले रणवीर निराश छन,’ ती सदस्यले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्