‘विदेशमा डुबेको पैसा गाउँमै भैंसी पालेर उठाएँ’



म्याग्दी : दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरी फन्दामा परे।

युरोपको चक्करमा लागेर करिब २० लाख डुबाएका बानियाँले घर फिरेपछि सानै लगानीमा पशुपालन व्यवसाय थाले। अहिले उनको व्यवसाय रहरलाग्दो भएको छ। मनग्गे कमाइ गर्न सफल भएका छन्। 

तीन वर्षअघि तीन लाखको लगानीमा घरमै पशुपालन गरेका बानियाँले विदेश जाने रहर छाडेर पशुपालनमै जमेका हुन्। स्थानीय र उन्नत जातका पाँच वटा भैंसी पालेका छन् उनले। 

दैनिक ७० लिटर दूध उत्पादन हुन्छ। सबै बिक्री गर्छन् उनी । तीन लाखबाट व्यवसाय सुरु गरेका बानियाँको लगानी यतिबेला १० लाख पुगेको छ। ‘विदेशमा डुबेको पैसा दूध बेचेर कमाउँदै छु। खर्च कटाएर मासिक १ लाख आम्दानी हुन्छ’, बानियाँले भने।

उनका अनुसार दूध डेरीमा प्रतिलिटर ७० र गाउँघरमा प्रतिलिटर १ सय २० रुपैयाँसम्ममा दूध बिक्री गर्ने गरेका बानियाँले कुखुरापालनसमेत गरेका छन्। 

‘दिगो र बलियो आम्दानीको माध्यम नै पशुपालन रहेछ। हरेक वर्ष लगानी थप्छु’, बानियाँले भने। उनले घरमै व्यवसाय गरेर पर्याप्त कमाउन सकिने रहेछ भन्ने चेतना भए पनि सरकारी अनुदानमा विभेद, पर्याप्त घाँस अभावले पशुपालनमा युवाको लगानी आकर्षित गर्न नसकिएको बताए। 

विदेश जाने लगानीले घरमै उन्नत जातका भैंसीबाट समेत मासिक राम्रो कमाइ गर्न सकिने बानियाँ बताउँछन्। परिवारको सहयोगमा पशुपालन गरिरहेका बानियाँले दैनिक बिहान र बेलुकी दुई पटक मोटरसाइकलमा दूध ढुवानी गर्छन्। 

बानियाँले  भैंसी र कुखुरालाई आवश्यक पानीको समस्या रहेको बताए। उनले दूध बेचेर घरायसी खर्च, साहुबाट लिएको ऋण भुक्तानी गरेर बचतसमेत हुने गरेको बताउँदै गोठ विस्तार गर्दै पशुपालनमा दोब्बर लगानी गर्ने बताए। 

गाउँघरका युवालाई विदेश पलायन रोक्न सरकारी निकायबाट वितरण हुने अनुदानलाई प्राथमिकताका आधारमा वितरण, बैंकबाट सस्तोमा कर्जा, युवालक्षित कार्यक्रम, अनुदान रकम, मेसिन, भकारो सुधार, गोठ निर्माण, आवश्यकताअनुसार निःशुल्क घाँसको बीउ, औषधि उपचार, पशुसेवाका कर्मचारीले घरदैलोमै निःशुल्क उपचारमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

जिल्लामा विदेशबाट फर्किएका युवाहरु पशुपालनमा आकर्षित हुने गरेका छन्। जिल्लामा अहिले करिब १ सयभन्दा बढी विदेशबाट फर्किएर व्यवसायिक पशुपालनमा संलग्न भई मनग्गे आम्दानी गर्ने किसान छन्। 

प्रतिक्रिया दिनुहोस्