एमसीसी मुख्यालयले स्वीकार गर्‍यो एमसीसीको व्याख्यात्मक टिप्पणी



काठमाडौं । नेपालले आफूसँग गरेको सम्झौता (नेपाल कम्प्याक्ट) संसदबाट अनुमोदन गराएको विषयमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले खुसी व्यक्त गरेको छ। आफूसँग भएको सम्झौता नेपाल सरकारले फेब्रुअरी २७ मा अनुमोदन गरेको जानकारी पाएको भन्दै एमसीसीले विज्ञप्ति जारी गरेको हो।

सम्झौता अनुमोदनसँगै पाँचवर्षे यो परियोजनाका कार्यान्वयनको बाटो खुलेको एमसीसीले उल्लेख गरेको छ। ‘यसले थप विश्वसनीय विद्युत् आपूर्ति, ढुवानी खर्च घटाउने र नेपालमा थप रोजगारी सिर्जनाको अवस्था सिर्जना हुनेछ’, एमसीसीको विज्ञप्तिमा भनिएको छ। यो सम्झौता अघि बढाउने निर्णयले एक सार्वभौम प्राजातान्त्रिक मुलुकका रूपमा रहन नेपाललाई सहयोग पुग्ने पनि एमसीसीले उल्लेख गरेको छ।

नेपाल सरकारले आफ्नो मुलुकमा ऊर्जा र यातायात क्षेत्र आधुनिकीकरणका लागि सन् २०१७ मा एमसीसीसँग सम्झौता गरेको थियो। यसले झन्डै ८० प्रतिशत अर्थात् २ करोड ३० लाख नेपालीलाई लाभ पुग्ने एमसीसीले दाबी गरेको छ।

यस क्रममा एमसीसीले अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको यसै वर्ष ७५औं वर्ष पूरा भएको उल्लेख गर्दै भनेको छ, ‘यो ७५ वर्षमा नेपालमा निकै ठूलो परिवर्तन आएको छ । एमसीसी र अमेरिकी जनता नेपालको यस किसिमको परिवर्तनमा साथ उभिएका छन् र विकास सहयोग, विपद् व्यवस्थापन र तयारी, स्वास्थ्य र शिक्षा कार्यक्रममार्फत सहयोग गरिरहेका छन्।’

नेपाल(अमेरिका सम्बन्ध एउटा सम्झौताभन्दा निकै माथि रहेको उल्लेख गर्दै एमसीसीले नेपाल र उसको प्रजातान्त्रिक मान्यता प्रवर्द्धनमा सहयोग जारी रहने जनाएको छ। ​स्थापना भएको करिब २० वर्षमा एमसीसी सम्झौताले विश्वभर गरिबी नियन्त्रणका लागि काम गरिरहेको एमसीसीले जनाएको छ। एमसीसीले आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र सुशासनमा प्रतिबद्ध विकासशील मुलुकमा लगानी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्