ट्याक्टरले जोतेर वैज्ञानिक कृषिको गफ !



काठमाडौं । नेपालमा वैज्ञानिक कृषि प्रणालीको चर्चा हुन थालेको लामै समय हुन लाग्यो । कृषि क्षेत्रमा क्रान्ति ल्याउने, कृषकको कामलाई सहज बनाएर उत्पादनमा वृद्धि गर्ने, प्रभावकारिता बढाउनेलगायतका ‘गफ’ बेलाबेला सुनिँदै आएका छन् अझै ।

बूढानीलकण्ठ नगरपालिका– ८ काठमाडौंमा ११ वर्षदेखि व्यावसायिक खेती गर्दै आएका प्रेमबहादुर तामाङ नेपालमा वैज्ञानिक कृषि प्रणालीअनुसार खेती सुरु नै नभएको ठान्छन् । तामाङलाई लाग्छ, वैज्ञानिक कृषि प्रणालीअनुसार खेती हुनलाई मौसमअनुसार तापक्रम, जल, मल र बिउको प्रयोग गरी खेती गरेको हुनुपर्छ । टनेलभित्र तरकारी रोप्दैमा र ट्याक्टरले खेत खन्दैमा वैज्ञानिक कृषि प्रणाली भन्न नमिल्ने उनको तर्क छ । सोही वडामा १० वर्षदेखि व्यावसायिक खेती गर्दै आएका गिरबहादुर घर्तीमगरको बुझाइ पनि प्रेमबहादुरको भन्दा फरक छैन । गिरबहादुर पहिलेभन्दा केही नयाँ प्रविधिको प्रयोग भए पनि वैज्ञानिक प्रणाली अनुसारचाहिँ खेती नभएको ठान्छन् । सरकारले सबैभन्दा पहिला कृषकलाई वैज्ञानिक कृषि प्रणालीअनुसार कसरी खेती गर्ने भनेर सिकाउनुपर्ने उनको माग छ।

कृषि क्षेत्रको विकासका लागि सरकारले वैज्ञानिक कृषि प्रणाली योजना बनाएको छ । तर, सरकार स्वयं योजनाअनुसार काम नभएको स्वीकार गर्छ । कृषि मन्त्रालयका पूर्वसचिव राजेन्द्रप्रसाद भारतीका अनुसार वैज्ञानिक कृषि प्रणालीबाट उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दी गरी ठूलो क्षेत्रमा खेती गर्नुपर्छ । ‘विगतको तुलनामा केही नयाँ प्रविधिको प्रयोग नभएको होइन, केही भएको पनि छ’, उनको स्वीकारोक्ति छ, ‘तर, नेपालमा अझै वैज्ञानिक कृषि प्रणालीअनुसार खेती भएकै छैन ।’ कृषि उत्पादन वृद्धि गर्न सरकारले सामान्य पूर्वाधार र संरचनासमेतको व्यवस्था नगर्दा वैज्ञानिक कृषि प्रणाली गफमै सीमति भएको कृषकहरूको भनाइ छ । काठमाडौंका धु्रवकुमार श्रेष्ठले बूढानीलकण्ठमा २०० रोपनी जग्गामा वैज्ञानिक प्रणालीको अवधारणाअनुसार तरकारी खेती गर्दै आएका छन् । शिक्षकसँगै कृषि प्राविधिक पनि रहेका श्रेष्ठलाई लाग्छ, नेपालमा वैज्ञानिक भन्दै गलत रूपमा खेती गर्दा माटोको उर्बराशक्ति ह्रास हुँदै गएको छ ।

सही रूपमा वैज्ञानिक प्रणालीबाट खेती गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन समय नलाग्ने श्रेष्ठको अनुभव छ । ललितपुर महानरपालिका– २५ मा लामो समयदेखि वैज्ञानिक कृषि प्रणालीअनुसार भनिएको कृषि खेती गर्दै आएकी माया केसीको तर्क पनि अरू कृषकको भन्दा फरक छैन । ललितपुरमा २० रोपनी जग्गामा प्राङ्गाारिक खेती गर्दै आएकी उनी वैज्ञानिक कृषि प्रणालीका नाममा गलत तरिकाले खेती भइरहेको दाबी गर्छिन् । सरकारले वैज्ञानिक कृषि प्रणालीका नीतिगत विषय कार्यान्वयन नगर्दा माटोको उर्बराशक्ति ह्रास भएको अधिकांश कृषक बताउँछन् । लामो सयमदेखि वैज्ञानिक कृषि प्रणालीका कुरा भए पनि क्षेत्रगत रूपमा वैज्ञानिक प्रणालीअनुसार खेती गर्न नसकिएको पूर्वसचिव भारतीको भनाइ छ । कृषि नीति र योजनामा कृषि उत्पादन र उत्पादकत्व बढाउने उल्लेख भए पनि नीतिको कार्यान्वयनलाई सरकारले प्राथमिकता नदिँदा पछिल्लो समय कृषियोग्य जमिन मासिँदै गएको छ ।

यसका कारण उत्पादन र उत्पादकत्वमा वृद्धि हुन नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रायका वरिष्ठ शाखा अधिकृत रामकृष्ण रेग्मी बताउँछन् । विगतको तुलनामा वैज्ञानिक कृषि प्रणालीअनुसार व्यावसायिक खेती जुन रूपमा हुनुपर्ने थियो, त्यसअनुसार हुन नसकेको अधिकृत रेग्मीको स्वीकारोक्ति छ । तर, कृषि क्षेत्रलाई वैज्ञानिक प्रणालीअनुरूप हुने गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न एक्लो कृषि मन्त्रालयले केही गर्न नसक्ने उनको भनाइ छ । राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारी वैज्ञानिक कृषि प्रणालीबाट खेती गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्ने ५० वर्षअघिदेखिको योजना झन्झन् खस्किँदै गएको महसुस गर्छन् । कृषि उत्पादनप्रति राज्यको ध्यान नजाँदा कृषिमा परनिर्भरता बढ्दै गएको पूर्वअध्यक्ष अधिकारीको ठहर छ ।
प्रगति देख्ने पनि छन्
बाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णभद्र अधिकारी भने विगतको तुलनामा पछिल्लो समय वैज्ञानिक कृषि प्रणालीबाट कृषि उत्पादन वृद्धि भइरहेको ठान्छन् ।

व्यावसायिक खेती गर्न कृषि ज्ञान केन्द्र बाग्मती प्रदेशले सहयोग गरिरहेको अधिकारीले दाबी गरे । अधिकारीले उत्पादन तथा उत्पादकत्व बढाउन कृषिका विभिन्न कार्यक्रम बनाएर कृषकलाई अनुदान सहयोग गरिरहेको जानकारी पनि दिए ।

संविधान र नीतिमा कृषिका कुरा

नेपालको संविधान, २०७२ को कृषि र भूमिसुधारसम्बन्धी नीतिमा ‘भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यान राखी वैज्ञानिक भूमिसुधार गर्ने, अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने’ उल्लेख छ।

राष्ट्रिय कृषि नीति, २०६१ एवं कृषि व्यवसाय प्रवद्र्धन नीति, २०६३, कृषि यान्त्रीकरण प्रवद्र्धन नीति, २०७१ को उद्देश्यमा देशको आर्थिक एवं भौगोलिक अवस्था सुहाउँदो कृषि यान्त्रीकरणका माध्यमबाट उत्पादनकत्व वृद्धि गरी कृषि व्यवसायलाई दिगो, प्रतिस्पर्धी र व्यावसायिक बनाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्