शिक्षाबाटै असमानता र विभेदको अन्त्य हुन्छ : राष्ट्रपति भण्डारी



सप्तरी : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको माध्यमबाट सबैखाले असमानता र विभेद अन्त्य हुने बताएकी छन्। सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षाकै माध्यमबाट सबैखाले असमानता र विभेदलाई जरैदेखि समाप्त पार्न सकिने बताइन्।

हीरक जयन्ती स्तम्भ र विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत निर्मित पक्की भवनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले शिक्षा नै सर्वाङ्गीण विकासको महत्त्वपूर्ण माध्यम भएको बताइन्। उनले उच्च शिक्षाको बलियो जगको रूपमा रहेको विद्यालय तहको शिक्षालाई प्रभावकारी तुल्याउन सुदृढ शैक्षिक तथा भौतिक पूर्वाधार विकास आवश्यक रहेकोमा जाेड दिइन।

आमा समूहलगायत स्थानीय समुदायलाई परिचालन गर्दै विद्यालयमा स्वास्थ्य र पौष्टिक दिवा खाजा उपलब्ध गराई बालबालिकाको स्वास्थ्य र गुणस्तरीय शिक्षामा जोड दिन पनि राष्ट्रपति भण्डारीले आह्वान गरिन। प्रदेश–२ सरकारले ल्याएको ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियानमा सबै पक्षलाई अग्रसर बन्न आग्रह गर्दै उनले शिक्षाका साथै जनस्वास्थ्यलाई सुदृढ र आधारभूत स्वास्थ्य सेवालाई विस्तार गर्न तथा उद्योगको विकासमा सरकारको ध्यानाकर्षण गराइन।

राष्ट्रपति भण्डारीले चुरे पर्वत शृङ्खलाको अनियन्त्रित दोहनलाई रोकी वृक्षारोपणलाई तीव्रता दिन, जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन, सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास गर्न, बाढीलगायतको प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वतयारीमा रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन। मन्तव्यका क्रममा राष्ट्रपति भण्डारीले तरहीगाउँमा २१ वर्षअघि आएको र केही बेर विद्यालयमा बसेको सम्झनासमेत स्मरण गरिन ।

सो समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सप्तरीकाे समृद्धिका लागि उपलब्ध स्रोत, साधन र क्षमतालाई विकास निर्माणमा लगाउनुपर्ने बताए। प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले विकासका लागि महिला–पुरुषको समान सहभागितामा जोड दिनुहुँदै शिक्षाकै माध्यमबाट महिलालाई सशक्त बनाउन सकिने बताए। 

प्रतिक्रिया दिनुहोस्