कांग्रेस धनुषाका जिल्ला सभापतिका लागि तीनजना प्रतिस्पर्धामा



जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । २३ फागुनमा हुने मतदानमा कांग्रेसका विभिन्न तीन समूहबाट उम्मेदवारी परेको छ ।

पार्टी सभापति शेरवाहदुर देउवा संस्थापन पक्षबाट जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, कोइराला-पौडेल समूहबाट संविधान सभा सदस्य दिनेश प्रसैला यादव र निवर्तमान उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वर नगरपालिका मेयर योगेन्द्र पजियारले उम्मेदवारी दिएका हुन् ।

उनीहरूले जनकपुरस्थित कांग्रेस निर्वाचन समिति धनषाको कार्यालयमा गएर आ-आफ्ना उम्मेदवारी दर्ता गराएका हुन् । तीनै जना उम्मेदवारले आफ्ना समूहका नेता तथा कार्यकर्ता लिएर प्रचारप्रसार गर्दै उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरूले आ-आफ्नो जित सुनिश्चत रहेको दाबी गरेका छन् । तर, पार्टीको जिल्लाका नेताहरूको चुनावी समीकरणले पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउने अवस्था नरहेको कांग्रेसकै नेताहरूले बताउदै आएका छन् । दोस्रो चरणमा मात्र जिल्ला सभापति चयन हुन सक्ने आंकलन गरिएको छ ।

कांग्रेस जिल्ला निर्वाचन समिति धनुषाको अनुसार बिहीबार उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकासन र शुक्रबार बिहान ९ देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता, ११ वजेदेखि १ बजेसम्म दाबी विरोध, १ बजेदेखि ३ बजेसम्म दाबी विरोधको छानबिन, ३ देखि ५ बजेसम्म अन्तिम नामावली प्रकासनको समय तोकिएको छ ।

त्यसैगरी, शनिबार र आइतबार प्रचारप्रसार र २३ फागुन सोमबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान र सोही दिन साँझ ७ बजेदेखि मतगणाको कार्यक्रम तोकिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको धनुषा जिल्ला अधिवेशनमा तीन हजार १८७ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्