जनताको टाउकोमा करमाथि कर



काठमाडौं । पेट्रोलियम पदार्थमा करमाथि कर उठाएर सरकारले उपभोक्ताको टाउको महँगीको भार थोपरेको छ। सरकारले विभिन्न ६ वटा शीर्षकमा पेट्रोलियम पदार्थबाट कर उठाउँदै आमजनताको टाउको महँगीको भार थोपरेको हो।

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसन (आईओसी)सँग सस्तो पेट्रोलियम पदार्थमा खरिद गरे पनि सरकारले अत्यधिक कर उठाउँदा आमउपभोक्ताले महँगो मूल्य तिर्नुपरेको छ। सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर उठाउँदा निगमलाई पनि आर्थिक भार बढेको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साह बताउँछन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा आमनागरिकको दैनिकीमा असर पर्ने हुँदा सरकारले पेट्रोलियम पदार्थमा उठाउँदै आएको कर कम गर्नुपर्ने नायव निर्देशक साहको भनाइ छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर वृद्धि हुँदै गएको छ। साहले भने, ‘अन्तर्राष्ट्रिय बजारको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिका कारण निगमले अहिले मासिक करिब ६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ’, उनले भने, ‘पछिल्लो समय आईओसीले पठाएको नयाँ मूल्यअनुसार इन्धनको मूल्य वृद्धि भएर आएको छ।

हाल तेल खरिद गर्नसमेत सञ्चित रकम नहुँदा नयाँ मूल्यअनुसार निगम इन्धनको मूल्य वृद्धि गर्नुपर्ने बाध्यतामा छ ।’ सरकारले यदि कर घटाउने हो भने निगमले आमउपभोक्तालाई सस्तोमा तेल दिन सक्ने नायव कार्यकारी निर्देशक साह बताउँछन् । सरकारले प्रतिलिटर पेट्रोलियम पदार्थबाट भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र पूर्वाधार विकास कर गरी ६ वटा शीर्षकमा कर उठाउने गरेको छ ।

केमा कति उठाइन्छ कर ?
पेट्रोल (प्रतिलिटर)
पेट्रोलमा भन्सार शुल्क २५ रुपैयाँ २० पैसा, भन्सार सेवा शुल्क ० दशमलब ०३ पैसा, सडक भन्सार शुल्क ४ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ उठाउँदै आएको छ। यसैगरी मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ३६ पैसा, वातावरण शुल्क १ रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १५ रुपैयाँ ६५ पैसा गरी पेट्रोलमा प्रतिलिटर ५७ रुपैयाँ ७३ पैसा उठाउादै आएको छ ।

डिजेल (प्रतिलिटर)
डिजेलमा भन्सार शुल्क १२ रुपैयाँ, भन्सार सेवा शुल्क ० दशमलब ०३ पैसा, सडक भन्सार शुल्क २ रुपैयाँ, पूर्वाधार विकास १० रुपैयाँ उठाउँदै आएको छ ।

यसैगरी मूल्य स्थिरीकरण कोष १ रुपैयाँ १९ पैसा, वातावरण शुल्क १ रुपैयाँ ५० पैसा र मूल्य अभिवृद्धि कर १३ रुपैयाँ ६९ पैसा गरी डिजेलमा प्रतिलिटर ४० रुपैयाँ ४१ पैसा कर उठाउँदै आएको छ।
हवाई इन्धन (प्रतिलिटर)
हवाई इन्धनमा भन्सार शुल्क २ रुपैयाँ, भन्सार सेवा शुल्क ० दशमलब ०३ पैसा, मूल्य स्थिरीकरण कोष १ रुपैयाँ १ पैसा, मूल्य अभिवृद्धि कर ११ रुपैयाँ १६ पैसा गरी कुल कर १४ रुपैयाँ ७५ पैसा उठाउँदै आएको छ ।

खाना पकाउने एलपी ग्यास (प्रतिसिलिन्डर)
खाना पकाउने एलपी ग्यासमा भन्सार शुल्क ९१ रुपैयाँ ४६ पैसा, भन्सार सेवा शुल्क ० दशमलब ३९ पैसा उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्