सर्वोच्चकाे संवैधानिक इजलास आजदेखि बस्दै



काठमाडौं । सर्वोच्च अदालतमा पाँच महिनापछि आज (शुक्रबार) संवैधानिक इजलास बस्ने भएको छ । संवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन ।

१ फागुनमा  जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् । कामु प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएसँगै संवैधानिक प्रश्नसँग जोडिएका ४ सयभन्दा धेरै मुद्दा सुनुवाइमा जानेछन्। 

प्रतिक्रिया दिनुहोस्