ग्रामीण पर्यटनका सम्भावना



गम्भीरबहादुर हाडा । पर्यटन शब्द फ्रेन्च शब्द ‘टुरिज्मे’बाट आएको हो । सामान्य अर्थमा पर्यटन भनेको व्यावसायिक रूपमा पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटकहरूले आफ्नो आनन्द र मनोरञ्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन् ।

पर्यटनका लागि ३ मुख्य आधार हुनुपर्छ- यातायात, स्थान विशेष र सेवा सुविधा पर्यटन घरबाहिर स्वदेश वा विदेशमा छोटो अवधिका लागि गरिने यात्रा हो । यसमा कमाउने उद्देश्य नराखी मनोरञ्जन, स्वास्थ्य, अध्ययन वा खोज, साहस वा भिन्न परिवेशको अनुभव बटुल्ने उद्देश्य रहेको हुन्छ ।

पर्यटनको परिभाषा सर्वप्रथम सन् १९१० मा अष्ट्रियाली अर्थशास्त्री हरम्यानन वन स्कुलाड्ले दिएका थिए । उनको यो परिभाषाअन्तर्गत पर्यटन भन्नाले ‘कुनै पनि निश्चित राष्ट्र, शहर वा क्षेत्रभित्र र बाहिर विदेशीहरूको बसोबास, आवातजावत र प्रवेश आदि सबै कुरा आर्थिक प्रकृतिसँग प्रत्यक्ष सरोकार राख्ने गर्छन् ।

पर्यटन प्राचीनकालदेखि नै मानवको लोकप्रिय विषय र चासोसँग सम्बन्धित रहँदै आएको छ । मानिस सभ्यताको सुरुवातदेखि नै टाढाटाढासम्म यात्रा गर्दै आइरहेको इतिहास छ । प्राचीनकालमा सबैभन्दा पहिले भ्रमणका लागि निस्कने यात्रीहरूमा फोनेसियनहरूको नाम लिन सकिन्छ ।

आधुनिक युगमा यिनीहरू नै प्रथम पर्यटकको रूपमा दर्ज हुन पुगेका छन् । कुकलगायत धेरै यात्रीहरूको प्रयासलाई मध्यनजर राख्दै अठारौँ शताब्दीलाई यात्राको सुनौलो युग मानिएको छ । तथापि, सन् १९६३ देखि सन् १९७३ सम्म को ३० वर्षको अवधिमा यात्राको क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ । १९औँ शताब्दीको पहिलो ५० वर्षमा विश्वमा ठूलो वैज्ञानिक र प्राविधिक उन्नति भएसँगै २०औँ शताब्दीको प्रारम्भमा पर्यटनका सम्पूर्ण अवयवहरूमा आमूल परिवर्तनको स्थिति सिर्जना हुन आएको देखिन्छ ।

प्राकृतिक विविधतासहितको हिमाली देश नेपालमा गगनचुम्बी हिमाली चुचुरा, सांस्कृतिक र धार्मिक विविधतामा सुन्दर संयोजन आदिका कारण विश्वका विभिन्न देशबाट हरेक वर्ष बढ्दो मात्रामा पर्यटक आकर्षित भइरहेका छन् । विश्वका उच्च हिमशिखरहरूको आरोहणदेखि मानसिक शान्ति प्राप्त गर्न पर्यटक नेपाल आउने-जाने गरिरहेका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल हेर्न तथा अन्य विभिन्न उद्देश्यले पर्यटक नेपाल भित्रिने गरेका छन् । यसले हरेक वर्ष विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याइएको छ  ।

प्राकृतिक सौन्दर्य, अनुपम संस्कृति, अतुलनीय सांस्कृतिक सम्पदा र अनगिन्ती विशिष्ट पर्यटकीय स्थलका कारण नेपाल पर्यटकीय गन्तव्य बन्दै आइरहेको छ । नेपाल अहिले सगरमाथा, बुद्ध जन्मस्थलका कारण अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यमा दर्ज हुन पुगेको छ । यसका अतिरिक्त ग्रामीण पर्यटन क्षेत्र बिस्तार गर्न सकेमा ती क्षेत्रहरू रोजगारीका नयाँ गन्तव्य बन्नेछन् । यसबाट ग्रामीण जीवनस्तरमा वृद्धि हुन गई क्षेत्रीय सन्तुलन कायम राख्न तथा गरिबी निवारण गर्न पनि मद्दत पुग्ने देखिन्छ ।

यसले विकासको सम्भावनालाई पनि बढाउने देखिन्छ । पर्वतीय तथा दुर्गम क्षेत्रका लागि पर्यटन निकै लाभदायी आर्थिक क्रियाकलाप सिद्ध हुँदै गएको छ । नेपालमा यस्ता नयाँ ठाउँहरू छन्, जसको उचित प्रयोग गर्न सकियो भने त्यस क्षेत्रका बासिन्दाले पर्यटनबाट लाभ हासिल गर्न सक्छन् । पर्यटकले ग्रामीण क्षेत्रका स्थानीय तहमा उपलब्ध सेवा र सुविधाको उपभोग गर्ने हुँदा अर्धदक्ष तथा अदक्ष कामदारले समेत काम पाउँछन् । यसका साथै यसबाट स्थानीय कला, सीप तथा संस्कृति जगेर्ना हुन जान्छ ।

समाजका तल्लो तहका समुदायसमेत यस लाभको हिस्सेदार हुन जान्छन् । यसबाट महिला तथा पिछडिएका वर्गले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन् । नेपालको ग्रामीण क्षेत्रमा जनसंख्या वृद्धि दर उच्च छ । तर, बढ्दो जनसंख्याअनुसार रोजगारीका अवसर भने सिर्जना गर्न सकिएको छैन । ग्रामीण पर्यटनको विकासले ग्रामीण बेरोजगारी समस्या हल गर्न मद्दत गर्छ । ग्रामीण क्षेत्रसम्म पर्यटक घुम्न जाँदा लज, होटल व्यवसायको विकास हुन्छ ।

अर्को कुरा, ग्रामीण क्षेत्रमा पर्यटनको विकास भएमा प्राकृतिक स्रोतहरूको अध्ययन, अनुसन्धान र परिचालन गर्न÷गराउन मद्दत पुग्न जान्छ । ग्रामीण क्षेत्रमा अव्यवस्थित तथा छरिएर रहेका विभिन्न साधन र स्रोतहरूको प्रयोग हुन सक्छ । यसले आय आर्जन गर्नमा सहयोग मिल्छ ।

ग्रामीण पर्यटनको विकास गर्दा गाउँका मानिसबीच सामाजिक अन्तक्र्रिया बढ्छ । आधुनिक समाजको निर्माणका लागि यसमा सुधार ल्याउनु आवश्यक छ । परम्परागत समाज र आधुनिक समाजका भिन्नता समाज परिवर्तनको आवश्यकता आदिबारे गाउँलेहरूले जान्ने र बुझ्ने अवसर पाउँछन्, जसले गर्दा ग्रामीण क्षेत्रमा बस्ने मानिसको ज्ञान बढ्ने अवसर प्राप्त हुन्छ ।

साथै, ग्रामीण पर्यटनको विकासले ग्रामीण बजारको विकासमा मद्दत पुर्याउँछ र पर्यटकहरूले ग्रामीण उत्पादनहरू, कलात्मक वस्तुहरू किन्ने हुँदा त्यसका उत्पादनहरूले आफ्ना उत्पादनको बजार प्राप्त गर्ने मौका पाउँछन् । ग्रामीण पर्यटनको विकास भएमा यातायात तथा सञ्चारको पनि विकास हुने सम्भावना बढ्छ । धार्मिक तथा प्राकृतिक सम्पदासम्म पुग्नका लागि सडकका साथसाथै अरू यातायात साधनहरूको संख्या पनि क्रमशः बढ्दै जान्छ । यसले गर्दा ग्रामीण क्षेत्र र शहरी क्षेत्रको दूरी क्रमशः घट्दै जान्छ ।

ग्रामीण पर्यटनको विकासले ग्रामीण क्षेत्रमा विद्यमान आर्थिक तथा सांस्कृतिक सम्पदाको अध्ययन भई अनुसन्धान गर्ने कार्यमा समेत थप सहयोग पुग्छ । ग्रामीण पर्यटनको विकासले गर्दा ग्रामीण क्षेत्रमा रहने मानिसको आम्दानीको स्रोत पनि बढ्न जान्छ ।
नेपालमा ग्रामीण पर्यटन उद्योगको विकास योजनाबद्ध तरिकाबाट गर्नुपर्ने आवश्यकतामा निकै जोड दिइएको छ । नेपालमा चालू व्यवस्थित उद्योगमध्ये पर्यटन उद्योग पनि धेरै महŒवपूर्ण सिद्ध भएको छ ।

देशमा पर्यटन उद्योगको विकासले विभिन्न देशका मानिसबीच विचारहरूको आदानप्रदान गर्ने मौका प्राप्त हुन्छ । देशबासीको बाहिरी संसारसँग सम्बन्ध बढ्छ र उनीहरू पनि अरू देशको शिक्षा, संस्कृति, सभ्यता आदिसँग परिचित हुन पाउँछन् । पर्यटनको विकासबाट नेपालको कलाकौशलमा प्रगति हुन्छ । पर्यटकहरूले हस्तकला खरिद गर्नाले यी कलाकारितामा निखार आई स्थानीय सीप र क्षमतामा अभिवृद्धि हुन जान्छ । उद्योग विकासमा यसले ठूलो सहायता पुर्याउनेछ । कलाका क्षेत्रमा नेपाली कलाकार प्राचीनकालदेखि नै विश्वभर प्रख्यात छन् ।

पर्यटन उद्योगको विकासले स्थानीय रोजगारी दिलाउने काम गर्छ । शिक्षित बेरोजगार पर्यटकलाई बाटो देखाउने काम गर्न पाउँछन् । यसले रोजगारीको मात्रामा वृद्धि हुन्छ । नेपालमा पर्यटन क्षेत्रबाट आज करिब प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । यसले नेपालको अर्थव् यवस्थामा ठूलो सहयोग पु¥याएको छ । ग्रामीण पर्यटनको विकासबाट देशमा विभिन्न प्रकारका घरेलु तथा साना उद्योगको विकासमा योगदान पुगिरहेको छ ।

पर्यटकले खरिद गर्ने वस्तु, उत्पादन गर्ने उद्योग, धातुका सामान बनाउने, काठका सामान बनाउने, कागजका घरेलु उद्योगहरूको विकासमा पर्यटन व्यवसायले ठूलो योगदान पुर्याउँदै आएको छ । पर्यटन उद्योगको विकासबाट देशमा नयाँनयाँ प्रविधि र सीपको विकास हुन्छ । विदेशी प्रविधि, सीप र पुँजीको आयात विदेशी उद्योगपतिको आगमनबाट हुन्छ भने यात्रुहरू प्रशस्त मात्रामा आवतजावत गर्ने भएमा देशको तीर्थस्थल, सांस्कृतिक र ऐतिहासिक स्थल र प्राकृतिक दर्शनीय स्थल र आन्तरिक बजारको विकास हुन्छ ।

स्वदेशी वस्तु खपतका कारण वाणिज्य तथा व्यापारको विकासमा धेरै योगदान पुग्छ । पर्यटन उद्योगको विकासले नेपालमा दुर्गम क्षेत्रको विकास गर्न मद्दत पु¥याउनेछ । दुर्गम क्षेत्रमा भएको पर्यटकीय स्थलको विकास गर्न मद्दत पुर्याउने छ ।यसले दुर्गम क्षेत्रमा स्थानीय बजारको विकास र रोजगारीको अवसर दिलाउने देखिन्छ । स्थानीय साधन, स्रोतको विकासमा यसले मद्दत पुर्याउँछ ।

आर्थिक वर्ष २०७५/०७६ मा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट शैक्षिक कोषतर्फ ४२० जना र अन्य तालिमतर्फ २ हजार ५३९ जनशक्ति थप हुनगएको छ ।यसैगरी नेपाल पर्वतीय शैक्षिक कोर्ष अध्यय सुरु भएको छ । अहिले ८५७ जनालाई पर्यटनसँग सम्बन्धित विभिन्न विधामा तालिम पनि दिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा तारेस्तरको होटल संख्या १२९ रहेकामा आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्मको अवधिमा ९ थप भई हालसम्म सो संख्या १३८ पुगेको छ ।

त्यसैगरी तारेस्तरबाहेकको पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या आर्थिक वर्ष २०७५/०७६ मा २९ हजार ७१० रहेकामा आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्ममा १ हजार ८९ थप भई ३० हजार ७९९ पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ सम्ममा पर्यटन विभागमा दर्ता भएका ३२४ सामुदायिक होमस्टेमा १ हजार बेड सञ्चालनमा रहेकामा आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्म ३८९ सामुदायिक होमस्टेमा १ हजार ८८ बेड सञ्चालनमा छन् ।

ग्रामीण पर्यटनको विकाससँगै औसत गरिबीको रेखामुनि बाँचिरहेका नेपाली जनताले आर्थिक फड्को मार्ने विश्वास लिइएको छ । पसल खोलेर, रिसोर्ट र रेस्टुरेन्टको स्थापना गरेर, गाइडिङलगायत अनेकौँ आय आर्जनका कार्यहरूमार्फत गाउँका मान्छेले आय आर्जन गर्न सक्छन् । गाउँको आयस्तर मात्र वृद्धि हुँदै जाँदा पुँजी निर्माण हुन्छ । पर्यटकहरूको नियमित भ्रमणले गाउँका जनतामा चेतनाको विकास हुन्छ । उनीहरू पर्यटकले बोल्ने भाषा, उनीहरूले गर्ने व्यवहार, उनीहरूको खाना आदिका बारेमा जानकार हुन्छन् । ग्रामीण जनताको यथास्थितिवादी सोच र रहनसहनमा परिवर्तन आउँछ ।

बिस्तारै जाति विभेद, छुवाछूत, छाउपडी आदि जस्ता सामाजिक कुरिति समाप्त हुन जान्छन् । समाजले काँचुली फेर्न थाल्छ । सांस्कृतिक आदानप्रदानले रहनसहनमा परिवर्तन ल्याउँछ । यसरी आफ्नो र अर्कोको संस्कृतिका सबल र दुर्बल पक्षहरू केलाउनसमेत मद्दत पुग्छ ।

ग्रामीण विपन्नता अन्त्य गर्न आन्तरिक र बाह्य पर्यटकहरूले विभिन्न संघसंस्थामार्फत आर्थिक विकासका योजनाहरूमा लगानी र प्रवद्र्धन गर्न सक्छन् । यस्ता उदाहरण पहिले पनि प्रशस्त देखिएका छन् । यसरी विकासको नयाँ ढोका खोल्न र आर्थिक उन्नति गर्न ग्रामीण पर्यटनले सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्