गर्भवती महिलाको मृत्युपछि अस्पताल तोडफोड



उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ। अस्पतालमा शुक्रबार बिहान  गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन।

अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका- ६ नेपालटारकी ३२ वर्षीय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताकाे मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन । गर्भवती सीताकाे उपचार अभावमा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका छन् । गत १७ फागुनमा नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी उनको उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए । जिल्ला अस्पतालका डाक्टरहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भन्दा भन्दै राखेर श्रीमतीको उपचार नै नपाएर मृत्यु भएको श्रीमान कार्कीले आरोप लगाए । ‘नर्मल हुन्छ किन बाहिर लैजान्छौ भनेर राखे । तर, अहिले श्रीमतीको मृत्यु भयाे,’ कार्कीले बताए ।

पीडितका आफन्तले अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोडपछि अस्पतालबाट दिइँदै आएको सम्पूर्ण सेवा बन्द भएको छ । ओपिडी चलिरहेको समयमा एक्कासि तोडफोड हुन गएपछि अस्पताल पुगेका सर्वसाधारणकाे भागाभाग भएको छ । अस्पतालका चिकित्सकले भने गर्भवतीको अवस्था खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दै मृतकका आफन्तले नमानेका कारण सीताकाे मृत्यु हुन पुगेकाे बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्