नेकपा बैठकमा मेयर चौधरीबारे छलफल, होला त कारवाही ?



विराटनगर : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको विषयमा पार्टीभित्र गम्भीर छलफल हुने नेपाल कम्युनिस्ट पार्टी नेकपाले जनाएको छ।

सार्वजनिक रूपमा निरन्तर अमर्यादित र असभ्य, धम्कीपूर्ण भाषशैली प्रयोग गरेर विवादमा आएपछि पार्टीले उनीमाथि छलफल चलाउने भएको हो। 

आइतबार बस्ने बैठकमा उनीबारे विषयमा छलफल हुने नेकपा सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’ले जानकारी दिए। पत्रकारलाई धम्की दिएको र महिलाहरूको चरित्र हत्या गर्ने खालका शब्द प्रयोग गरेको भन्दै उनलाई कारबाही गर्नुपर्ने प्रतिपक्षी दल कांग्रेसलगायतले माग गर्दै आएको थियो। 

प्रदेश कमिटीका केही पदाधिकारीसमेत सहभागी हुने जिल्ला बैठकमा चौधरीका पछिल्ला गतिविधिबारे सुरुवाती छलफल हुने बताइएको छ। 

‘स्थानीय तहमा कसरी पार्टी एकतालाई अन्तिम रुप दिने भन्ने विषयमाथि बस्न लागेको बैठकमा मेयर चौधरीको अभिव्यक्ति र उनको बारेमा पहिला छलफल हुनेछ,’ नेकपाल जिल्लास्तरका एक नेताले भने, ‘उनको बोलीले पार्टीलाई लाजमर्नु बनाएको र पदीय आचरणबाहिरको कुराले समग्र पार्टीपंक्तिको बेइज्जत गरेको छ।’ 

प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको अभिव्यक्ति र उनको कार्यशैलीलाई लिएर नेकपाकै केन्द्रीय कतिपय नेताले आचरण सुधार्न र सार्वजनिक रुपमै माफी माग्नसमेत आग्रह गर्दै आएका थिए।

यद्यपि उनले आफूले कुनै गल्ती नगरेको र पार्टीले कारबाही गरे ‘बारी खनेर खान्छु’ जस्ता अभिव्यक्ति दिएका थिए। तर, पछिल्लो दुई पटक भने उनले विज्ञप्ति नै निकालेर आफूले बोलेका कुरा र सञ्चारमाध्यमलाई धम्क्याएकोप्रति आत्मआलोचना गरी दोहोरो चरित्र देखाएका थिए। 

नेकपा प्रदेश १ कमिटीले पनि मेयर चौधरीलाई पुनः त्यस्तै व्यवहार दोहो¥याए थप कडा कदम चालिने चेतावनी दिएको थियो। 

प्रतिक्रिया दिनुहोस्