नेइमार बार्सिलोना फर्कन चाहन्छन् !



काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाबाट २०१७ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका स्ट्राइकर नेइमार बार्सिलोना फर्कन चाहेको उनका पूर्व ‘टिममेट’ मार्टिन मोन्टोयाले बताएका छन् ।

बार्सिलोनामा रहँदा नै नेइमारले लियोनल मेस्सी र लुइस स्वारेजसँगको तालमेलमा उत्कृष्ट खेल देखाएका थिए । तर, कीर्तिमानी मूल्यमा फ्रान्सतिर लागे । पीएसजीमा पहिलो सिजन रमाउन नसकेका नेइमार दोस्रो सिजनमा भिज्न थालेको भए पनि उनी बार्सिलोना नै फर्कन चाहेका समाचार आइरहेका छन् ।

‘उनी क्याम्प नाउ फर्कन चाहन्छन् । तर अहिले अवस्था सजिलो छैन’ उनले भने, ‘पीएसजी निकै राम्रो टिम हो । उनीहरुले अहिले सजिलै नेइमारलाई कतै पठाउँदैनन् । नेइमारका लागि उनीहरुले ठूलो रकम खर्चेका छन् ।’

नेइमारले पीएसजीका लागि ४४ खेलमा ४० गोल र २२ असिस्ट गरेर आफ्नो क्षमता देखाइसकेका छन् । तर, उनी बार्सिलोनामा जस्तो रमाउन नसकेको मोन्टोयाको दाबी छ । ‘बार्सिलोनामा तीन वर्ष रहँदा नेइमार निकै राम्रा भएका थिए । खेलसँगै अन्य वातावरणमा पनि उनलाई बार्सिलोनामा सहज थियो’ उनले भने ।

अहिले इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनमा रहेका मोन्टोया पनि इटालियन क्लब इन्टर मिलान र बार्सिलोनासँग कुराकानीमा छन् । बुधबार राति च्याम्पियन्स लिगको खेलमा इन्टर मिलान र बार्सिलोनाबीच नै प्रतिस्पर्धा हुँदैछ ।

बुधबारको खेलमा बार्सिलोनाविरुद्ध मिलानका मारुओ इकार्डी सरप्राइज प्याकेजका रुपमा देखिने मोन्टोया बताउँछन् । ‘इकार्डी निकै राम्रा खेलाडी हुन् । बार्सिलोनविरुद्ध उनको खेल महत्वपूर्ण हुने छ । गएको सिजन त उनले लिगमा सर्वाधिक गोल नै गरेका थिए,’ मोन्टोयाले भने, ‘तर पनि बार्सिलोना बार्सिलोना नै हो । जुनसुकै बेला पनि बार्सिलोनाले जसलाई पनि हराउने क्षमता राख्छ । त्यहाँ निकै राम्रा खेलाडी छन् ।’

मोन्टोया बार्सिलोनामा रहँदा लुइस इनरिक र पेप गार्डिओलाको प्रशिक्षणमा खेलेका थिए । उनी बार्सिलोनाका लिजेण्ड खेलाडी जाभी पनि राम्रो प्रशिक्षक बन्न सक्ने बताउँछन् । अहिले कतारमा व्यावसायिक फुटबल खेलिरहेका जाभी भविश्यको पेप गार्डिओला भएको समेत उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्