१० महिनामा चार लाख जनाले लिए श्रम स्वीकृति, बढ्ला रेमिट्यान्स ?



काठमाडौं । कोरोना माहामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिँएको छ । २०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिव चार लाख जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले २०७८ वैशाख देखि माघ मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको हो ।

‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या पहिलेकै अवस्थामा पुगेको छ,’ वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्ण प्रसाद भूसालले न्युज कारखानासँग भने ।

भूसालका अनुसार पछिल्लो १० महिनामा कूल ३ लाख ९७ हजार ६१३ जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् । सो समयमा औषतमा प्रत्येक महिना ३९ हजार ७६१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको संख्या बाँकी दुई महिनामा पनि बढे यो वर्ष करिव पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ ।

‘गत आर्थिक वर्ष २०७७र७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८र७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख १० हजारभन्दा बढी छ,’ सूचना अधिकृत भूसालले भने ।

विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५ र माघमा ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएका छन् ।

विश्वमा कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगार क्षेत्रमा असर गरेको थियो । महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्यामा ठूलो गिरावट आएको थियो । विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो ।

कोरोना महामारी नियन्त्रण गर्न प्रायः सबै देश लकडाउनमा गएपछि वैदेशिक रोजगारमा जानेको संख्या ओरालो लागेको थियो । नेपालले पनि २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो ।

कोरोनाका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भएपछि आर्थिक वर्ष २०७६र७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ मा झरेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५र७६ मा वैदेशिक रोजगारमा जान विभागबाट ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगारमा कोरोनाले अझ ठूलो असर आर्थिक वर्ष २०७७र७८ मा गर्यो । सो वर्ष मात्र १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष भने श्रव स्वीकृति लिनेको संख्या पुरानै अवस्थामा फर्केको छ ।

‘कोरोना खोपका कारण विश्वास बढ्यो र बजार खुले । यसैले वैदेशिक रोजगारलाई फेरी पुरानै अवस्थामा फर्काउन मद्दत गर्यो,’ विभागका सूचना अधिकृत भूसालले न्युज कारखानासँग भने ।

कोरोनाका कारण वैदेशिक रोजगारमा जानेको संख्या घट्दा यसले नेपाल भित्रने रेमिट्यान्समा असर गरेको छ । पछिल्ला महिनाहरुमा नेपाल भित्रने रेमिट्यान्स घटेको छ । यसले नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८र७९ को साउनदेखि पुससम्मको ६ महिनाको अवधिममा नेपालमा विभिन्न देशबाट ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७र७८ को पहिलो ६ महिनामा नेपालमा ४ खर्ब ९५ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यस वर्ष वैदेशिक रोजगारमा जानेको संख्या बढेको छ । यसले पुनः नेपाल भित्रने रेमिट्यान्स बढाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्