तुल्सीपुर स्थित एक विद्यालयमा मगर भाषाको कक्षा शुरु  



दाङ : तुलसीपुर उपमहानगरपालिका–१ स्थित वीरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबारदेखि मगर भाषा कक्षा पढाउन शुरु गरिएको हो । 

नेपाल मगर सङ्घ तुलसीपुर–१ ले संस्कृति संरक्षणका लागि मगर भाषा कक्षा पढाइ शुरु गरेको सचिव हिमाल थापाले बताउनुभयो । “पछिल्लो समय मगर संस्कृति, भाषा, लिपि, वेषभूषा हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “यसलाई जोगाउन मगर भाषा कक्षा सञ्चालन गरेका हौँ ।” विद्यालयमा अध्ययन गर्ने मगर समुदायका बालबालिका तथा अन्य समुदायका बालबालिकालाई पनि मगर भाषा तथा लिपिका बारेमा जानकारी दिनका लागि यो कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ ।

अहिले दाङमा प्राय बोल्ने गरिएको मगर ‘ठुट’ भाषा पढाउन लागिएको हो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई मगर तथा इच्छुक अन्य जातिका विद्यार्थीलाई एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिने उहाँको भनाइ छ । 

उक्त कक्षाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको थियो । “नेपाल बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक मुलुक हो”, उहाँले भन्नुभयो, “त्यसैले तुलसीपुरमा मगर भाषा कक्षा सञ्चालन हुनु लोकतन्त्रको सुन्दर पक्ष हो ।” 

 

प्रतिक्रिया दिनुहोस्