कर्णालीमा बलात्कारका घटना दोब्बरले बढे



वीरेन्द्रनगर : पछिल्लो ९ महिनाको अवधिमा कर्णालीमा ११६ वटा बलात्कारका घटना भएका छन्। जुन अघिल्लो वर्षको घटनाभन्दा दोब्बर हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष ५९ उक्त घटना भएका थिए।

प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहकाअनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबरर्जस्ती करणीका छन्। उनका अनुसार आर्थिक वर्ष २०७२–७३ मा ६८, २०७३–७४ मा ६७ र २०७४–७५ मा ५९  बलात्कारका घटना भएका थिए।

यस आर्थिक वर्षको चैत सम्ममा मात्र ११६ बलात्कारका घटना भएको तथ्यांकमा उल्लेख छ। प्रहरी प्रमुख शाहले अधिकांश बलात्कारका घटनामा बालिका नै पीडित भएको बताए। बलात्कारसँगै बहुविवाह, बालविवाहका घटना पनि उल्लेख्य रहेकाले यसका लागि आर्थिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत महिला हिंसा र लागुऔषधको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

जिल्लाका ७९ स्थानीय तहका सबै वडामा उक्त कार्यक्रम सञ्चालन गर्न प्रशिक्षकलाई तालीम दिइरहेको पनि प्रहरी प्रमुख शाहको भनाइ थियो। 

प्रतिक्रिया दिनुहोस्