एमसीसीमा कम्युनिष्टले उत्तेजनाको राजनीति गरे : गगन थापा



पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको प्रकरणमा उत्तेजनाको राजनीति चलेको बताएका छन् । कम्युनिस्टहरु धेरै भएको देशमा उत्तेजनाको राजनीतिको दोकान चलेकोको भन्दै त्यसैलाई चलाएको चलाई गरेको उनले आरोप लगाए ।
महामन्त्री थापा शुक्रबार पोखरामा नेपाली कांग्रेस मादी गाउँपालिका समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आवश्यकताले मात्रै गठबन्धन बनेको बताए । ‘यो गठबन्धनको काम चुनाव गराउने काम हो,’ उनले भने, ‘चुनावमा मिल्छौं कि मिल्दैनौं, त्यो अर्कै विषय हो ।’
२०५६ सालमा एमाले महासचिव माधव नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मिलेर सरकार बनाए पनि चुनावमा छुट्टाछुट्टै गएको थापाले स्मरण गराए । ‘अहिले नेपाली कांग्रेस, माओवादी र समाजवादी मिलेर गठबन्धन बनाउनुपर्ने आवश्यकता भयो, किन कि संविधान जोगाउन गठबन्धन चाहियो, पद्धति जोगाउनका लागि चाहियो,’ उनले भने, ‘नत्र एउटा दुर्घटना हुने भयो ।’
अब यो गठबन्धनले वैशाख ३० गते चुनाव गराउनुपर्ने थापाले बताए । ‘कोही कतै नअल्मिलिनुहोला, वैशाख ३० गते स्थानीय निर्वाचन हुन्छ,’ उनले भने, ‘कांग्रेसले चुनाव गराउँछ, किन कि संविधानले हामीलाई त्यही मार्ग निर्देशन गरेको छ ।’
संसदको चुनाव भने मंसिरमा वा त्योभन्दा पहिला पनि हुनसक्ने उनको भनाइ थियो । अब जनताको बीचमा जाँदै गर्दा एउटा अपिल र अनुरोध लिएर जानुपर्नेमा महामन्त्री थापाले जोड दिए ।
नेपालका सबै राजनीतिक दलका नेताहरुले एमसीसीको प्रक्रिया अघि बढाएको महामन्त्री थापाले बताए । ‘राष्ट्रघाती सम्झौता छ भन्नेले यति पनि इमान राखेन कि सम्झौता मैले नै गरेर आएको हुँ, त्यो बनाएको मैले नै हो, मैले गर्दा खेरी केही त्रुटि कमजोरी भयो भनेर भनेको भए स्वीकारेछ भन्नुहुन्थ्यो,’ उनले भने, ‘उल्ले ढाँटयो, ठग्यो, लुकायो, उल्ले भनेन ।’

प्रतिक्रिया दिनुहोस्