दाङ : पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन्। दाङ देउखुरी जिल्ला अदालतले वैशाख २८ गते दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गराउन फैसला गर्यो।
यस्तै १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा तुलसीपुरका ५५ वर्षीय हजुरबुबा पर्ने व्यक्तिलाई उक्त अदालतले ६ महिना कैद, दुई हजार जरिवाना र पीडितलाई पाँच हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला गर्याे।
जिल्लामा बलात्कार र बलात्कारका प्रयासका घटना बढ्नाका साथै यस्ता घटनामा संलग्नमध्ये अधिकांश पक्राउ परेका छन् भने केही व्यक्ति फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताए।
२८ वर्षीया महिलालाई तुलसीपुर उपमहानगरपालिका–११ का महेश भनिने भूवन धिताललाई गत चैत १३ गते बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गर्याे। अहिले ती व्यक्ति जबर्जस्ती करणीसम्बन्धी मुद्दामा पुर्पक्षमा छन्। सोही अपराधमा घोराही उपमहानगरपालिका–१४ का ४४ वर्षीय ऋषिराम आचार्य पनि पुर्पक्षमा छन्।
११ वर्षीया बालिकालाई पढाउने, लेखाउने बहानामा ६ महिनादेखि बलात्कार गरेको उनीमाथि अभियोग छ। यसै गरी ११ वर्षीया बालिकालाई सल्यानबाट दाङ ल्याएर बलात्कार गरेको अभियोग लागेका सल्यानका २२ वर्षीय पुरुषोत्तम दमाइँ पनि पुर्पक्षका लागि कारागारमा छन्।
बितेको ६ महिनामा दाङमा ४२ बलात्कार तथा बलात्कार प्रयासका घटना दर्ता भएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा बढी हो। अघिल्लो आर्थिक वर्ष ५१ बलात्कार तथा बलात्कारका प्रयासका घटना भएका थिए।
४२ बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित ४३ मध्ये २६ पाँच वर्षदेखि १७ वर्षसम्मका बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ शाखा प्रतिनिधि जेएन सागरले बताए।
बलात्कार तथा बलात्कारका प्रयासका घटनामध्ये १५ देखि २० प्रतिशत घटनाको अन्तिम फैसला भइसकेको अदालतले जनाएको छ। उक्त अदालतका न्यायाधीश हेमन्त रावलले पीडितलाई समयमा न्याय दिन नसकिए न्याय दिनु नदिनु सरह हुन जाने बताए।
बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा) संलग्न भएको पाइन्छ। तुलसीपुर बसपार्कमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय मानबहादुर गुरुङमाथि एक ३१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेको छ भने बबई गाउँपालिकाका एक प्रौढमाथि आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोग छ।
समाजमा सचेतना र जागरण बढेपछि यौन हिंसा बाहिर आउन थालेको महिलाअधिकारकर्मी बताउँछन्। ‘हिजो पुरानो मान्यता थियो, पीडित आफैं दोषी हुनुपर्ने अवस्था थियो तर अब समाजमा चेतना बढेको र कानुनी ज्ञान पनि भएकाले घटना बाहिर आउने गरेका छन्,’ महिला अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले भनिन्।