भेरी बबईमा नयाँ सर्भे : २१ हेक्टर डुबान हुने 



बाँके : भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण २१ हेक्टर जमीन डुबानमा पर्ने पछिल्लो सर्वेक्षणको तथ्यांक सार्वजनिक भएको छ। तल्लोतटीय क्षेत्रका १३ हेक्टर दर्ता र आठ हेक्टर ऐलानी जग्गा डुबानमा पर्ने सर्वेक्षण प्रतिवेदन आएको आयोजनाले जनाएको छ।

राष्ट्रिय गौरवको उक्त आयोजनाको लागि पाँच वर्षअघि गरिएको सर्भेमा आठ हेक्टर जमिन मात्रै डुबानमा पर्ने उल्लेख थियो। पुरानो सर्भे प्रतिवेदनप्रति प्रभावित क्षेत्रका बासिन्दाले असन्तुष्टि व्यक्त गरेपछि आयोजनाले पुनः सर्भे गरेको हो।

आयोजनाबाट ११ घर प्रभावित हुनेछन्। आयोजनाले यसै साता प्रमुख जिल्ला अधिकारीलाई जग्गा अधिग्रहणसम्बन्धी प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

चालू आवभित्रै मुआब्जा वितरण गर्न रु १० करोड बजेट छुट्याइएको छ। मुआब्जा निर्धारण भने प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले टुङ्गो लगाउनेछ।

भेरीको पानीलाई भेरीगङ्गा नगरपालिका–९ को चिप्लेदेखि भेरीगङ्गा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सुरु गरिएको आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ। 

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) श्रीप्रसाद साहले चालू आर्थिक वर्षभित्रै मुआब्जाको टुङ्गो लगाउने जानकारी दिए। मुआब्जाको टुङ्गो लागेपछि मात्र ड्याम (बाँध) निर्माणको काम सबुरु गर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्