विकासमा महिलाको समान सहभागिता अत्यन्त जरुरी : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको बताएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै ओलीले एमालेको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री ओलीले संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको धारणा राखेका छन्। ‘नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ। राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको छ। आज स्थानीय तहमा हजारौं महिलाहरुको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान बढेको छ।’

नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको सन्देशमा उल्लेख छ। ‘ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ,’ जारी सन्देशमा भनिएको छ।

एमाले मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको ओलीको दाबी छ। गत वर्ष सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्बन्धी कानूनी व्यवस्थालाई थप कडा बनाउँदै तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय वृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई सुदृढ बनाएको शुभकामना सन्देशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्