अफगानिस्तान आतङ्कवाद प्रभावित देशका सूचीको शीर्ष स्थानमा



अफगानिस्तान । अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै यो कुरा जनाएका छन् ।

अफगानिस्तानमा सन् २०२१ मा आतङ्कवादबाट एक हजार चार सय २६ जनाको ज्यान गएको छ, यो विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो । आईईपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तीमा हुई हजार एक सय ९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।

यी पीडितहरूमध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको सन् २०२१ को आक्रमणमा परेका थिए । दाएस समूहले काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुई वटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा एक सय ७० जना मारिएका थिए भने अन्य थुप्रै घाइते भएका थिए ।

अफगानिस्तानपछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी आक्रमण गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए । यसैबीच अगस्टको मध्यमा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय सङ्कट निम्तिएको छ ।

संयुक्त राष्ट्र सङ्घका अनुसार अफगानिस्तानमा दुई करोड ४० लाख जनाभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्