पाँच वर्षदेखि गोठकाे बास : पराल सिरक, दाउरा सिरानी   



म्याग्दी : म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी चाउनेकी ७० बर्षीया घमिष्टा भण्डारी विगत पाँचबर्षदेखि दाई चन्द्रबहादुरसँगै पशुचौपायालाई बनाइएको गोठमा बस्छिन् ।

 

भत्किने अवस्थामा रहेको गोठमा बस्ने उनीहरुले पराललाई ओड्ने सिरक, बनजंगलबाट ल्याएको दाउरालाई सिरानी बनाएर सुत्छन् । गोठभित्र कुनामा रहेको अगेना मुस्किलले दुईचारदिनमा एकपटक बोल्छ। पुराना भाडाँकुडा चुहिने अवस्थामा छन भने एकछाक पकाउने चामल समेत छैन् ।

छिमेकीले दिएको खानाकै भरमा रात कटाउने गरेका दाजुबहिनीले पेटभरी भात खान पाउनुलाई नै अहोभाग्य ठान्छन् । गाउँकै विपन्न भण्डारी दाजुबहिनीलाई स्थानीय धनवती गिरीले पशुचौपाया राख्ने गोठमा आश्रय दिएकी छन् ।  नजिकै पशुचौपाया भएकाले  घमिष्टाले गर्मी मौसममा पनि लामखुट्टेबाट जोगिन आगो बाल्ने गरेकी छन् ।

 ‘खानेकुरा केही छैन्,‘बस्ने बास छैन, दाई बिरामी छन्’ गोठमा प्रवेश गर्ने वित्तिकै घमिष्टाले भनिन् । उनले एकसातादेखि बनजंगलबाट ल्याएको तरकारी र गाउँबाट मागेर ल्याएको भात खाएको बताउँदै बिरामी दाईलाई उपचार गर्ने पैसा समेत नभएको बताइन् । 

घनिष्टा बिहानै उठेर गाउँलेको काममा निस्किएर बेलुकी केही खानेकुरा ल्याउने गरेको स्थानीय धनवती गिरीले बताईन्। ‘अलपत्र अवस्थामा मैले बस्ने ठाउँ दिएको छु, मेरो पनि आर्थिक अवस्था कमजोर नै भएकाले उनीहरूलाई आवश्यक केही सहयोग गर्न सकेको छैन’ उनले भनिन् । 

बि.सं २०७२ बैशाखमा गएको भूकम्पमा चर्किएको गोठमा बस्न बाध्य भण्डारी दाजुबहिनीलाई बाह्रै महिना समस्या हुने गरेको स्थानीयको भनाई छ । ‘न्यानो लुगा लगाउने र बाक्लो सिरक ओढ्ने चाहाना सपना जस्तै छ, छेउमै पशुचौपाया भएकाले रात काट्न पनि मुस्किल छ’ घमिष्टाको भनाई उद्धित गदैं एक स्थानीयले भने । घमिष्टाका दाजु नशा र शरीर दुख्ने समस्याका कारण हिँडडुल गर्न सक्दैनन्, अहिलेसम्म बहिनीले नै जसोतसो गरेर स्याहारीरहेकी छिन्। 

पशुसरह जीवन जिउन बाध्य भण्डारी दाजुबहिनीलाई सानो बस्ने घर र सम्मानयूक्त जीवन स्थापित गर्न स्थानीयले सहयोगको याचना गरेका छन् । खान, बस्न र बाँच्न पाउने अधिकारबाट समेत बन्चित भएका भण्डारी दाजुबहिनीलाई तत्काल गोठबाट सुरक्षित घरमा सार्न, खाद्यान्न र लत्ताकपडाको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्