गाँजाको ‘हब’ बन्दै बागमती प्रदेश, प्रहरी साक्षी मात्र



काठमाडौं । लागुऔषध गाँजा बढी बरामद हुने प्रदेशमध्ये बागमती प्रदेश पहिलो स्थानमा पर्छ । नेपाल प्रहरीको तथ्याङ्कमा अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी बाग्मती प्रदेशबाट गाँजा बरामद भइरहेको पाइएको छ ।
देशभरि बरामद भएको गाँजाको कुल परिमाणमध्ये बाग्मती प्रदेशबाट मात्र आधाजसो बरामद भएको छ । देशभरिबाट बरामद भएको ३१ हजार ९८७ किलोमध्ये बाग्मती प्रदेशबाट मात्र १५ हजार १३ किलो गाँजा बरामद भएको प्रहरी अभिलेख छ ।
मकवानपुर प्रहरीले १५ फागुनमा मकवानपुरको भीमफेदीबाट करिब १० किलो गाँजा नियन्त्रणमा लियो । विशेष सूचनाको आधारमा जाँच गर्ने क्रममा मकवानपुर प्रहरीले भीमफेदीबाट हेटौँडातर्फ आउँदै गरेको गाडीबाट ९ किलो ८०० ग्राम गाँजासहित ५ जनालाई पक्राउ गर्‍यो ।
प्रहरीले गाँजासहित पक्राउ गरेका गाडी र आरोपीहरूलाई गाँजासम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
पर्सा प्रहरीले १३ माघमा अमरपट्टीबाट ७ किलो गाँजासहित २ जनालाई पक्राउ गर्‍यो । प्रहरीले विशेष सूचनाको आधारमा भारततर्फ पैदल जाँदै गरेको अवस्थामा १ जना भारतीयसहित २ जनालाई नियन्त्रणमा लियो ।
प्रहरीले दुवै जनालाई जाँच गर्दा झोलाबाट गाँजा बरामद गरेको थियो । प्रहरी हिरासतमा रहेका दुवै जनामथि लागुऔषधसम्बन्धी कसुरमा कारबाही अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले जनाए ।
पछिल्लो समय पर्सा र मकवानपुरमा मात्र गाँजा बरामद भइरहेको छैन । बाग्मती प्रदेशसँगै मधेस प्रदेशका अन्य जिल्लाको अवस्था पनि उस्तै छ ।
प्रहरी अभिलेखमा अहिले सबैभन्दा बढी बाग्मती प्रदेश र मधेस प्रदेशका अधिकांश जिल्लाबाट गाँजा बरामद भइरहेको तथ्याङ्कले देखाइरहेको छ । यसरी बरामद हुने अधिकांश गाँजा भारततर्फ जाँदै गरेको अवस्थामा फेला पर्ने गरेको प्रहरी स्रोत बताउँछ ।
कहाँबाट बढी बरामद ?
प्रहरीले पछिल्ला ५ वर्षमा देशभरिबाट ३१ ह्जार ९८७ किलोभन्दा बढी गाँजा गरेको तथ्याङ्क छ । प्रहरी रेकर्डअनुसार बरामद भएको कुल परिमाणको ८१ दशमलब ६ प्रतिशतभन्दा बढी गाँजा बागमती र मधेस प्रदेशबाट बरामद भएको छ ।
प्रहरी अभिलेखमा पछिल्ला ५ वर्षमा बाग्मती प्रदेशबाट १५ हजार १३ किलो गाँजा बरामद भएको छ । यो भनेको अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।
त्यसैगरी मधेस प्रदेशबाट ११ हजार १३९ किलो गाँजा बरामद भएको छ, जुन बढी बरामद हुनेमध्येको दोस्रो नम्बर हो ।
कुन वर्षमा कति ?
नेपाल प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७४-०७५ देखि चालू आर्थिक वर्षको माघसम्मा देशभरिबाट बरामद हुने गाँजाको परिमाणमा कमी आएको छैन ।
प्रहरी रेकर्डमा आ.व. २०७४-०७५ मा ४ हजार २०८, २०७५-०७६ मा १० हजार ३१०, २०७६-०७७ मा ४ हजार ३३५, २०७७-०७८ मा ८ हजार २३४ र २०७८-०७९ मा ४ हजार ९०० किलो गाँजा बरामद भएको उल्लेख छ ।
यसैगरी यही अवधिमा प्रदेशगत तथ्याङ्क हेर्ने हो भने भारतसँग नजिकका प्रदेशबाट बढी गाँजा बरामद हुने गरेको देखिन्छ । बाग्मती प्रदेशमा आ.व. २०७४-०७५ मा १ हजार ५६७, २०७५-०७६ मा ७ हजार ३१२, २०७६-०७७ मा १ हजार ९१६, २०७७-०७८ मा २ हजार ६४४ र चालू आर्थिक वर्षको माघसम्ममा १ हजार ५७४ किलो गाँजा बरामद भएको छ ।
त्यसैगरी २०७४-०७५ देखि चालू आर्थिक वर्षको माघसम्ममा क्रमशः २ हजार ८३, २ हजार ११५, १ हजार ७१९, ३ हजार ५१ र २ हजार १७१ किलो गाँजा बरामद भएको नेपाल प्रहरीको तथ्याङ्क छ ।
किन हुँदैन नियन्त्रण ?
नेपालमा लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ले लागुऔषधसम्बन्धी विभिन्न कसुरजन्य कार्यहरूलाई अपराधअन्तर्गत राखी कसुर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरेको छ । यस ऐनमा १० किलोभन्दा माथि कारोबार गर्नेलाई कसुरदार ठहर्‍याइएको छ ।
यस हिसाबले अहिले बाग्मती र मधेस प्रदेशबाट बरामद हुने गाँजाको परिमाण धेरै छ, जुन सजाय दिलाउनमा काफी छ । यो रोक्ने जिम्मेवारी भने नेपाल प्रहरीको छ । तर पनि प्रहरी त्यो कामबाट चुकिरहेको छ ।
सधैँ एउटै ठाउँबाट गाँजा बरामद हुँदा पनि प्रहरीले रोकथामका लागि विशेष योजना ल्याउन सकेको छैन, जसका कारण प्रहरीमाथि प्रश्न मात्र उब्जाएको छैन, प्रहरी काममाथि शंका नै पैदा गरेको छ । किनकि, नेपाल प्रहरीको तथ्याङ्कमा गाँजा बरामद हुने जिल्ला र प्रदेशको उही नाम दर्ज छ ।
बर्सेनि एउटै जिल्ला र उही प्रदेशबाट धेरै परिमाणमा गाँजा बरामद हुँदा पनि प्रहरी किन मौन बस्दै आइरहेको छ ? यो विषय चर्चाको केन्द्रमा छ ।
तर, प्रहरीले भने गाँजा निर्मूलीकरण हुन नसक्नुका पछाडि अरू कारण पनि रहेको औँल्याएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले गाँजा खेती र कारोबार लुकीछिपी हुने गरेका कारण निर्मूलीकरण हुन नसकेको जनाए ।
उनले भने, ‘यो खेती सबैभन्दा बढी हेटौँडामा भइरहेको छ, त्यो पहाड हो । त्यहाँ जान धेरै गाह्रो छ, जुन कारणले यो खेती र कारोबार फस्टाउँदै गएको हो ।’
गोली चलाएर भए पनि गाँजाको कारोबार रोक्न प्रहरी प्रयासरत रहेको उनको भनाइ छ । ‘यहाँ उत्पादन गरेर तेस्रो मुलुकमा जाने भएको हुनाले यो निर्मूलीकरण गर्न कठिनाइ हुने गरेको छ’, उनले भने ।
तर, यसमा प्रहरी नचुकेको उनको जिकिर छ । यसका अलावा यसबारे प्रहरीले व्यापक प्रचारप्रसार पनि गरिरहेको उनले जनाए ।
वैध बनाउने विधेयक संसद्मा
नेपालमा धेरै व्यक्ति गाँजामा पक्राउ पर्न थालेपछि यसलाई खुला गर्न बहस चलिरहेको छ । गाँजाको उत्पादन, प्रशोधन, बजार व्यवस्थापन र बिक्री वितरण तथा प्रयोगलाई नियमन गर्न संघीय संसद्को प्रतिनिधिसभामा विधेयक दर्ता भएको छ । गाँजा खेती (व्यवस्थापन) ऐन, २०७६ संसद्मा विचाराधीन अवस्थामा छ ।
गाँजाबाट औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य खाद्य, व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागिसमेत गुणस्तरीय गाँजा उपलब्ध गराउन नेपालमा गाँजा खेतीलाई खुला गर्न तथा यसको माध्यमबाट कृषकको आर्थिक स्तर बढाउनका लागि गाँजा खेतीलाई नियमित तथा व्यवस्थित गर्ने र गाँजाको गैरकानुनी उत्पादन, बिक्रि वितरण तथा उपयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बाञ्छनीय भएकाले ऐन आवश्यक रहेको विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्