गुजुल्टिएका तारले कुरूप उपत्यका, के हेर्दै छ सरकार ? (फोटो फिचर)



काठमाडौं : गुजुल्टिएका तारका कारण करिब ४० लाख मानिस बसोबास गर्ने उपत्यकाको सौन्दर्य पछिल्लो समय गुम्दै गइइरहेको छ। त्यतिमात्र हैन यी तारबाट मानवीय तथा भौतिक क्षति पनि हुने गरेको छ।

उपत्यकाको विद्युतका पोलहरूमा गुजुल्टा परेका तार देख्दा रिगंटा नै लाग्छ। जता हेर्‍यो उतै माकुराले जालो लगाएजस्तै तारको जालो देखिन्छ। पोलमा मात्र हैन भुइँमा पनि त्यति नै मात्रामा छरपष्ट छन् तार।

व्यवस्थित सहरमा विद्युतका पोलमा आवश्यक तार टाँगिन्छन्, प्राय अण्डरग्राउड गरिन्छन्। अनि घरघरमा विद्युत् प्रसारण गरिन्छ। नेपालमा यी पोलहरू दुरुपयोग गरेर जथाभावी तारहरू टाँग्दा सहर नै कुरूप बन्नुका साथै विभिन्न खालका क्षति हुने गरेका छन्।

लगनखेलका उमेश बज्राचार्यले कतिचोटि आफ्नै आँखाले तार सर्ट भएर घरहरू जलेको देखेका छन्। उनी भन्छन्, ‘कतिचोटि पानी पर्दा तार सर्ट भएर मेरै आँखाअगाडि आगलागी भएको छ, कति पटक तार भुइँमा छरपस्ट हुन्छ। म आफैँ अल्झिएर लडेको छु, अरू लडेर घाइते भएका देखेको छु। तार धेरै पुरानो भयो, कयौँ वर्षदेखि फेरिएको छैन। एउटै तारबाट धेरै घरमा जडान गरिँदा पनि यस्तो समस्या आएको हुन सक्ने उनको बुझाइ छ। साथै उनी यस समस्याप्रति कसैले चासो नराखेको भन्दै चिन्ता व्यक्तसमेत गर्छन्।

उनले भने, ‘तार बनाउनेहरूले बिग्रेको तार त्यतिकै बेवारिसे छाडेर हिँडिदिन्छन्। खोइ कसले कारवाही गर्ने ?’ यस्तो समस्या झेल्ने उनी एक मात्र होइनन्। हरेक दिन पैदलै गन्तव्यतर्फ जाने अधिकांशले अव्यवस्थित तार र त्यसबाट उत्पन्न समस्या देख्ने गर्छन्, काठमाडौंमा।

यसबारे धेरैले धेरैपटक सम्बन्धित निकायमा जानकारी पनि गराएका होलान्। तर अझसम्म काठमाडौं महानगर, जिल्लाका अन्य नगरपालिकाले यो समस्या सल्टाउन सकेका छैनन्। तर सम्बन्धित निकायले तार व्यवस्थित गर्न पटक पटक निर्देशन दिए पनि त्यो फगत निर्देशनमा सीमित भएको छ।

नेपाल विद्युत प्राधिकरणले भने छिट्टै यी सबै समस्या समाधान हुने बताएको छ। काठमाडौं उपत्यकामा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने योजना अघि बढाइएको उसले बताएको छ। ठेक्का सम्झौता सकेर कम्पनीले सर्भे र डिजाइनको काम गरिरहेको प्राधिकरण आयोजना व्यवस्थापना निर्देशनालयका प्रमुख मनोज सिलवालले बताए।

पहिलो चरणअन्तर्गत रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई भूमिगत गर्न भारतीय कम्पनी केइआइ इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको उनले बताए। कम्पनीले साढे २ वर्ष्भित्रमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भूमिगत र अटोमेसन गरी सक्नुपर्ने छ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ। तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्रअन्तर्गतका करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ। दोस्रो चरणमा बानेश्वर,कुलेश्वर, बालाजु, जोरपाटीलगायत क्षेत्रका लागि ठेक्का सम्झौता हुने र त्यसका लागि ५/६ महिना लाग्ने छ।

देशको केन्द्रीय राजधानीलाई सुन्दर र आकर्षक सहरका रुपमा विकास गर्न बिजुलीका तार भूमिगत गर्ने योजना बनाइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्