चट्याङ लागेर दाङमा ३ बालकको मृत्यु, एक घाइते



दाङ : चट्याङ लागेर दाङमा ३ बालकको मृत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका–३ मौरिघाटमा मंगलवार बेलुका परेको चट्याङले तीनजना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। मृत्यु हुनेमा मौरिघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय बिबेक चौधरी र १० वर्षीय रमित चौधरी रहेको इप्रका भालुवाङका प्रहरी नायव निरीक्षक रत्नबहादुर खत्रीले बताए।

चट्याङ लागेर सोही गाउँका ८ वर्षीय अबिनाश चौधरी घाइते भएका छन्। उनको लमही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार एकै गाउँका चारै बालक मौरिघाट माध्यामिक विद्यालय परिसर नजिकै रहेको जामुनको रुखमुनी जामुन खाँदै थिए।

बेलुका साढे ६ बजेतिर एक्कासी चट्याङ लागेर चार जना ढलेका थिए। चारमध्ये अविनाशको अवस्था मात्रै सामान्य रहेको थियो भने अन्य तीनजना अचेतावस्थामा थिए। चट्याङ लागेर अचेतावस्थामा रहेका तीनै बालकलाई तत्काल लमही अस्पतालमा उपचारका लागि ल्याइएको थियो। अस्पतालले तीनैलाई मृत घोषणा गरेको प्रहरी नायव निरीक्षक खत्रीले जानकारी दिए।  

प्रतिक्रिया दिनुहोस्