विवाहको प्रस्ताव अस्वीकार गर्दा ६ वर्षीया छोरीको अपहरण



बुटवल : अपहरणमा परेकी ६ वर्षीया एक बालिकालाई प्रहरीले दुई दिनपछि सकुशल उद्धार गरेको छ। रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै वीरगञ्ज महानगरपालिका–२७ का जयराम दासले उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरेका थिए।

अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजतलासका क्रममा बालिकालाई बुटवल उपमहानगरपालिका–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं १०३ बाट उद्धार गरेको हो। प्राप्त सूचनाका आधारमा बालिकालाई कोठामा लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुधबार बिहान करिब साढे ७ बजेको समयमा होटलमा छापा मारेर उनलाई सकुशल उद्धार गरेको हो। 

साथै अपहरणमा संलग्न दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।   दास विगत ९ महिनादेखि पीडितको घर नजिकै रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए। सोही क्रममा बालिकाकी आमासँग चिनजान भएको थियो।

सामान्य चिनजानकै आधारमा दासले विवाहको प्रस्ताव राख्दा महिलाले अस्वीकार गरेपछि घरमा महिलाका पति नभएको मौका छोपेर दासले सोमबार साँझ करिब ८ बजेको समयमा बालिकालाई जबर्जस्ती अपहरण गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।  पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्