यी हुन् नेपालका तीन शीर्ष प्रदूषित शहर



काठमाडौं : नेपालको सहरमध्ये सबैभन्दा बढी प्रदुषित सहर काठमाडौं रहेको पाइएको छ । विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको छ । 

पीएम २ दशमलव ५ अनुसार काठमाडौंमा सोमबार ७६ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको वातावरण विभागको प्रदूषण अनुगमन तथा नियन्त्रण शाखाले जनाएको छ । शाखाकी वातावरण निरीक्षक सुनिता खनालका अनुसार काठमाडौंको रत्नपार्कमा सोमबार बिहान ४२ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ । साँझ ६ बजे प्रदूषणको मात्रा बढेर ९३ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको पाइएको छ ।

यसैगरी, आइतबार काठमाडौंको औषत प्रदूषण ८८ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेकोे थियो । शनिबार ७३ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा शुक्रबार ६७ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो ।

यस्तै, बिहीबार ७७ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा गत बुधबार ८४ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो ।

प्रदूषणको दोस्रो स्थानमा रहेको नेपालगन्जमा सोमबार २४ घण्टाको पीएम २ दशमलव ५ को औसत प्रदूषणको मात्रा ७५ दशमलव ३३ माइक्रोग्राम प्रतिक्युबिक मिटर पुगेको पाइएको छ । सोमबार बिहान ४१ रहेको प्रदूषणको मात्रा साँझ ६ बजे १ सय १८ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको केन्द्रकी वातावरण निरीक्षक खनालले जानकारी दिइन् ।

यसैगरी, आइतबार नेपालगन्जको औसत प्रदूषण ८१ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको थियो । यस्तै, गत शनिबार ७४ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो ।

शुक्रबार ७५ दशमलव ८, बिहीबार ७३ दशमलव ७ र बुधबार ६१ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको वातावरण विभागको प्रदूषण नियन्त्रण तथा नियमन शाखाले जनाएको छ ।

यसैगरी, सोमबार मुलुकभरको प्रदूषणको तेस्रो स्थानमा रहेको दाङमा पीएम २ दशमलव ५ को औसत प्रदूषण मात्रा ५० दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ ।

सोमबार बिहान ४१ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा साँझ बढेर ९७ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको शाखाले जनाएको छ । शाखाकी वातावरण निरीक्षक खनालका अनुसार अघिल्लो साताको तुलनामा क्रमशः प्रदूषण बढ्नेक्रममा रहेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्