५० हजारको लोभले बेचिन्छन् नेपाली चेली



काठमाडौं : २१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो । 

उद्दार गरिएका सबैलाई माइती इण्डियाले सोमबार बाँके प्रहरी र माइती नेपाल नेपालगन्जलाई उनलाई हस्तान्तरण गरेको छ । खाडी मुलुकमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्दार गरी माइती नेपाल फर्काइएको हो ।

उद्दार गरिएकामा झापाका १० जना छन् । कास्की, काभ्रे, सुनसरी, सप्तरी, कपिलवस्तु, दैलेख, मोरङका दुई÷दुई जना छन् । सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयपुर, रामेछाप, काठमाडौं, दाङ, इलाम, तेह्रथुमलगायकाका जिल्लाका एक–एक जना रहेको माइती नेपालले जनाएको छ । उनीहरू कम्तीमा २१ वर्षदेखि बढीमा ४२ वर्षसम्मका छन् ।

उद्दारकर्ता माइती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार यी महिलालाई भारतको अवैध बाटोबाट खाडी मुलुकमा रोजगारीमा पठाउने भन्दै लगिएको थियो ।

पाण्डेले भने, ‘एकजना महिला पठाए वापत मुख्य दलालले खाडीका साहुबाट ४ लाख भारु पाउने रहेछन् । त्यो रकममध्ये काठमाडौंस्थित दलालको भागमा एक लाख, गाउँमा महिला सम्पर्क गराउनेदेखि दलालको सम्पर्कमा ल्याउनेलाई पाँच हजारदेखि २० हजार दिइने गरेको थियो ।’

सित्तैमा जान पाइने र मनग्गे कमाउने आशामा नेपाली महिला दलालको फन्दामा पर्ने गरेको माइती इण्डियाले जनाएको छ । यसरी लैजाने महिलालाई कुबेत, साउदीलगायतका खाडी मुलुकमा अवैध बाटोबाट पुर्‍याइने रहेछ । उद्दार गरिएकाहरूलाई दुई दिनदेखि दुई महिनासम्म नयाँ दिल्ली नजिकै गाजियाबादमा परिवारलाई सम्पर्क गर्न नदिएर राखिएको थियो ।

६ जना भन्दा बढी यसअघि गइसकेर फर्केका थिए । उद्दार गरिसकेपछि पनि उनीहरू दलालकै बचाउमा उत्रेका थिए । महिलालाई दलालले भारतीय बजारमा किनमेल गर्न जाने भन्दै बिर्तामोड, निजगढ, सुनौली, बर्दियालगायतका नाकाबाट भारत पुर्‍याएका थिए ।

कोठीबाट तीनको उद्दार

टोलीले भारतको नयाँ दिल्लीस्थित जीबीरोडको वेश्यालयमा बेचिएका तीन जना महिलाको पनि उद्दार गरेको छ । दुई जना सिन्धुपाल्चोक र एक जना नुवाकोटका छन् । उद्दार टोलीले केही दिन दिल्लीकै नारी निकेतनमा राखेर अन्य महिलासँगै नेपाल ल्याइएको थियो ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले १५ जना महिलालाई काठमाडौं, २१ जनालाई झापा, भैरहवा र मोरङको माइती नेपालमा पठाएर बाँकी ४ जनालाई नेपालगन्जमा राखेर काउन्सिलिङ गरिने बताए । यो समाचारआजको अन्नपूर्ण पोष्ट दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्