रविन्द्र अधिकारीको क्षेत्रमा बढी बजेट विनियोजन भएपछि पोखरा महानगरमा ताला



पोखरा : पोखरा महानगरपालिकाको गेटमा काङ्ग्रेसनिकट जनप्रतिनिधिले बिहीबार ताला लगाएका छन् । महानगरले पाँचौँ नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेड बुक) र मेयर मानबहादुर जिसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरूले महानगरको मूलद्वारामा ताला लगाएका हुन् ।

नगरसभाको चौथो दिन बुधवार महानगरले रेड बुक प्रस्तुत गरेको थियो । उक्त रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे आवाज उठाउँदा मेयर अपशब्द प्रयोग गरेको पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेको आरोप छ ।

अध्यक्ष लामिछानेले मेयरले माफी माग्नुपर्ने बताए । जिसीको प्रस्तावपछि पोखरा महानगरका ११ वडाध्यक्ष सहित ४८ जना काङ्ग्रेस निकट जनप्रतिनिधिले  रेड बुक च्यातेर फ्यालेका थिए । समानुपातिक बजेट नआएको र नेकपा निकट वडाध्यक्षका वडाहरूमा ८० प्रतिशत बजेट विनियोजन भएको तर बढी राजश्व सङ्कलन हुने वडाहरूमा काङ्ग्रेसका वडाध्यक्ष भएका कारण कम बजेट विनियोजन भएको आरोप लगाए ।  

साथै कास्की क्षेत्रनम्वर दुईमा हुने उपनिर्वाचन केन्द्रित बजेट विनियोजन गरेको वडाध्यक्ष लामिछानेले आरोप लगाए । कास्की क्षेत्र नम्वर दुईका प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । उनी नेकपाका नेता थिए।  

बजेट र मेयरले अभव्यिक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे थप सशक्त बनाउने लामिछानेले बताए । अहिले मुलगेटमा मात्र ताला लगाए पनि आफूहरूका माग बेवास्ता गरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए । वार्ताकालागि स्वयम् मेयर उपस्थित हुनुपर्ने उनीहरूको माग छ ।

पोखरा महानगरले मङ्गलवार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधवार छलफलपछि विनियोजन विधेयक पारित भएको छ । 

प्रतिक्रिया दिनुहोस्