मिल्स क्रिकेटमा कानपुर र विराटनगर उपाधिका लागि भिड्ने



विराटनगर । विराटनगरमा जारी इन्डो–नेपाल टि २० मिल्स कप क्रिकेट प्रतियोगिताको उपाधि नजिक समशेर क्रिकेट क्बल कानपुर पुगेको छ ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा कानपुरको समशेर क्रिकेट क्लबले कटिहारको सन्नी क्रिकेट क्लबलाई १ सय १३ रनको ठूलो योगफलमा पराजित गरेको छ । दुवै प्रतिष्पर्धी टोली भारत विहारका हुन् । जितसँगै कानपुरले उपाधिका लागि विराटनगरको पूर्वाञ्चल क्रिकेट क्लबसँग मंगलबार प्रतिष्पर्धा गर्ने छ ।
कानपुरले टस हार्दै पहिलो ब्याटिङको अवसर पाएको थियो । कानपुरले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय २२ रन बनायो। हर्सित सिंह र राहुल सिंहले ५०–५० रन र आकाश गौरले ३३ रनको योगदान गरे । कटिहारका रवि कुमारले ३ तथा सुशील कुमार, अजय यादव र अंश राजले समान १–१ विकेट लिए ।
२ सय २३ रनको विशाल लक्ष्य पटछ्याउने क्रममा कटिहारले १४ ओभर ४ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ९ रनमै समेटियो । खालिद आलमले २२ र मयँक पन्नानीले २१ रन बनाए । म्यान अफ द म्याच कानपुरका राहुल सिंहले ६ विकेट, अन्नत वासले २ र दिपान्सु सिंहले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्