हराउँदै मौलिक देउसीभैलो



अछाम : तिहारमा खेलिने देउसीभैलोमा मादलको तालमा भट्याउने चलन अहिले हराउदै गएको छ । देउसीभैलोका गीतहरु सबै रेडिमेड प्रयोग हुन थालेपछि मादल र मौलिक लोकसंस्कृतिका गीत लोप हुन थालेका छन् । 

विगतका देउसीभैलोमा गाउँघर गुञ्जाउने गरी मादल र देउसी गीत हराउने अवस्थामा पुगेको मंगलसैन नगरपालिका ६ का थिउरे भण्डारी बताउँछन् । ‘पहिले गाउँमा देउसीको रौनक छाउँथ्यो । अहिले हल्ला मात्र महसुस हुन्छ, ’ उनले भने । 

पछिल्लो पुस्ताका युवाहरु विदेशी गीत, नाच र सस्कृतिमा रमाउँदा स्थानिय भाका, भेषभुषा र सस्कृति आझेलमा परेको बुढापाकाहरु बताउँछन् । पहिले दसै–तिहार आउँदा एक महिनासम्म गाउँमा भुवो, हुड्के, देउडा लगायत गीत तथा नाच पञ्चेबाजाका तालमा गुञ्जिने गरेको मंगलसैन ५ का ८५ वर्षीय मानबहादुर बोहरा स्मरण गर्छन् । ‘सामाजिक सद्भाव र संस्कार जगेर्नाका लागि तिहारमा खेलिने मौलिक भैलो र देउसी हराउने भए,’ उनले भने । 

तुर्माखाँद, जयगढ, कमलबजार साँफेबगरलगायत क्षेत्रबाट युवाहरु समूहमा देउसीभैलो खेल्दै, रमाउँदै मंगलसैनसम्म आउने गरेको कमलबजार नगरपालिका १ का वडाध्यक्ष टेकबहादुर विष्ट स्मरण गर्छन् । जिल्लाको बजार क्षेत्रमा देउसीको चहलपहल नभए पनि गाउँघरमा भने सुरु भइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्