मेलौली नगरपालिकाकाे आकर्षक योजना, भैसीलाई २ हजार सुत्केरी भत्ता दिइने



बैतडी : मेलौली नगरपालिकाले भैंसीलाई सुत्केरी भत्ता दिने भएको छ । प्रतिभैंसी २ हजार रुपैयाँ दिन नगरपालिकाले आगामी आव ०७६/७७ मा बजेटै विनियोजन गरेको छ ।नगरप्रमुख कृष्णसिंह नायकले गाउँघरमा भैंसी लोप हुन लागेपछि किसानलाई प्रोत्साहित गर्न सुत्केरी भत्ता व्यवस्था गरिएको बताए । नगरपालिकाको यो कार्यक्रमबाट किसानहरू उत्साही छन् । ‘नगरपालिकाले भत्ता दिने भएपछि भैंसीपालन सजिलो हुने भयो,’ मेलौलीकी जानकी पार्कीले भनिन् । मेलौलीजस्तै जिल्लाका स्थानीय तहले लोकप्रिय कार्यक्रमसहितको बजेट ल्याएका छन् । दोगडाकेदार र शिवनाथ गाउँपालिकाले घरमा हुने सुत्केरी शून्य पार्ने कार्यक्रम ल्याएको छ । डिलासैनी गाउँपालिकाले बेरोजगारलाई रोजगार दिने भनेको छ ।

जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा ६ स्थानीय तहले बजेट ल्याइसकेका छन् । बजेट ल्याएका स्थानीय तहहरूले सडक, शिक्षा, स्वास्थ्य, कृषिलाई जोड दिएका छन् । महिला, बालबालिका, असहाय, एकल, ज्येष्ठ नागरिक, अपांगता भएकाहरूलाई पनि उनीहरूले प्राथमिकतामा राखेका छन् । डिलासैनी गाउँपालिकाका प्रवक्ता अक्कल रानाले ७ वटै वडामा कृषि र पशुको पकेट क्षेत्र बनाइने बताए । ‘बेरोजगारहरूलाई रोजगार दिने, अपांगता भएका, एकल, असहाय, महिला, दलितहरूलाई सीपमूलक तालिम दिने कार्यक्रम ल्याएका छौं,’ उनले भने ।सिगास गाउँपालिकाले सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएको छ । पञ्चेश्वर गाउँपालिकाले एक घर एक मौरीघार, एक घर १० बिरुवा, एक विद्यालय २० बोट, एक गाउँ एक पकेट क्षेत्रजस्ता कार्यक्रम ल्याएको छ । सबै स्वास्थ्य चौकीमा कम्प्युटर र इन्टरनेट जडान गर्ने बजेटमा उल्लेख छ । ५० शय्याको अस्पतालका पहल गर्ने योजनासमेत बजेटमा छ ।

शिवनाथ गाउँपालिकाले ३५ वर्षमुनिका एकल महिलालाई संगठित गरी जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम ल्याएको छ । एक वडा एक खेल मैदान, एक घर बीस फलफूलका बिरुवाजस्ता कार्यक्रम पनि ल्याइएका छन् ।

मेलौलीले दिँदै आएको विदुर भत्तामा ५ सय थप गर्ने भएको छ । नगरपालिकाबाट तलबभत्ता पाउने कर्मचारीले प्रत्येक महिना १०५ रुपैयाँ आफ्ना आमाबुवाको खातामा जम्मा गर्ने कार्यक्रम पनि ल्याइएको छ । दोगडाकेदार गाउँपालिकाले पशु र कृषि बिमा गर्ने किसानहरूलाई ३० प्रतिशत अनुदान दिने कार्यक्रम ल्याएको छ । गर्भवती र सुत्केरीलाई अन्डा, घिउजस्ता पोषिलो खानेकुरा उपहारस्वरूप प्रदान गर्ने कार्यक्रम पनि बजेटमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्