अज्ञात समूहको गोली प्रहारबाट १ मजदुर घाइते



सर्लाही : सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक मजदुर घाइते भएका छन्। जिल्लाको लालबन्दी नगरपालिका १, नवलपुरका ३० वर्षीय जयनाथ महतोलाई अज्ञात समूहको गोली प्रहार गरी घाइते बनाएको हो।

स्थानीय ब्रह्मस्थान मन्दिर निर्माणमा मजदुरीको काम गरिरहेको अवस्थामा शनिबार मध्यान्ह मोटरसाइकलमा आएका २ जनाको समूहले महतोमाथि गोली प्रहार गरेका थिए। दाहिने पाखुरामा गोली लागेका महतोलाई नवलपुरस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि वीरगन्जतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।

गोली प्रहार गर्ने दुईजना पहिला महतो घरमा पुगेको र त्यहाँ फेला नपरेपछि खोज्दै काम गरिरहेको स्थानमा आइपुगेको स्थानीयले बताएका छन्। आक्रमणकारी समूहको पहिचान भइनसकेको र गोली प्रहारको कारण पनि नखुलेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने वितिकै दुई जना जंगलको बाटो हुँदै पूर्वतर्फ भागेको स्थानीयले जनाएका छन्। फरार आक्रमणकारी समूहको खोजीकार्य व्यापक बनाइएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्