३ महिनामा ६३ हजारलाई प्रहरी रिपोर्ट



 

काठमाडौं  :  प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५–७६ को ३ महिनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ ।

 

रिपोर्ट लिने अधिकांश विदेश जाने छन् । विदेश जान प्रहरी रिपोर्ट अनिवार्य छ ।

 

गत आर्थिक वर्षमा २ लाख ७७ हजार ४ सय ९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटोछरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै प्रहरी रिपोर्ट पठाउने व्यवस्था मिलाइएको बताउँछन् ।

 

‘विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौं’ उनले भने, ‘अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा अनलाइनबाटै प्राविधिक तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानिरीक्षक भएसँगै उनले उपत्यकाका चार स्थानमा सेवा थप गरेका थिए । हाल काठमाडौँको महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालीमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा सातै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था गरिएको छ ।

 

प्रवक्ता सुवेदीले काठमाडौँ उपत्यकाभित्र भरेको फाराम ३ दिनभित्र, प्रदेश कार्यालयबाट एक हप्तामा र विदेशी नागरिकका लागि एक हप्तामा रिपोर्ट लिन मिल्ने व्यवस्था गरिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्