शेयर कारोबार अब अनलाइनबाट



 

काठमाडाै‌ :   नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्वचालित (अनलाइन) कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ ।

 

अर्थमन्त्री डा .युवराज खतिवडाले काठमाडौंमा अनलाइन कारोबार प्रणालीको शुभारम्भ गरे । अनलाइन कारोबारको शुभारम्भसँगै इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोबार गर्न सकिने भएको छ । शेयर कारोबार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोबारसम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोबार गर्न सक्नेछन् ।

 

कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले लगानीकर्ताहरुलाई कम्पनीको बित्तीय अवस्था हेरेरमात्र शेयरमा लगानी गर्न आग्रह गरे । आर्थिक क्रियाकलापका लागि कम्पनीको अवस्थाबारे सबैले बुझ्नुपर्ने उनको भनाइ थियो ।

 

अनलाईन कारोबार सुरु भएपछि लगानीकर्तालाई थप सहज हुने नेप्सेले जनाएको छ । गत साउन १ गतेदेखि परीक्षणको रुपमा रहेको उक्त प्रणालीको सञ्चालनपछि बजार विस्तार हुने, कारोबारमा वृद्धि हुने तथा शेयरमा लगानीकर्ता समेत बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्