तुरतुरे हत्याकाण्डका आरोपी ३० वर्षपछि पक्राउ



लमजुङ : तुरतुरे हत्याकाण्डका आरोपी ३० वर्षपछि पक्राउ परेका छन् । २०४६ भदौ ३ गते साँझ लमजुङ दुधपोखरी गाउँपालिका–४ स्थित कोदो बारीमा तनहुँ भानु–८ तुरतुरे बस्ने गोरखाका २७ वर्षीय बेद प्रसाद पोखरेलको हत्या भएको थियो । सोही घटनाका आरोपी लमजुङ दूधपोखरी गाउँपालिका–४ बस्ने भ्यान्टे कामीलाई लमजुङ प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी भ्यान्टे समेतका ५ जनाले ३० वर्षअघि लुटपाट गर्ने योजनासहित ढुङ्गा प्रहार गरी मारेर उनको साथमा रहेको ४ हजार रुपैयाँे लुटेका थिए। जिल्ला अदालत लमजुङको २०४८ फागुन १३ गतेको फैसलाले कामीलाई २० वर्ष कैद तोकिएको थियो । वरदात पश्चात फरार रहेका भ्यान्टेलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत लमजुङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय लमजुङ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्