अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक एकाउन्ट बन्द



 

सान फ्रान्सिस्को :   अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका ११५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ ।

 

अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ ओटा इन्स्टाग्राम खातासमेत रहेका छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुकमार्फत् नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो ।

 

अमेरिकामा मंगलबार मध्यावधि चुनाव हुँदैछ । गत साता प्रकाशित एक अध्ययनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनकोभन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जालमार्फत् गलत सूचना प्रवाह भएको देखिएको छ । राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ ।

 

‘आइतबार साँझ अमेरिकी कानुन कार्यान्वयन निकायले अनलाइन गतिविधिकाबारेमा हामीसँग सम्पर्क राखेका थिए । उनीहरुको विचारमा ती खाताहरु विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए’–फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरले बताए–‘हामीले तत्कालै ती खाता बन्द गरिदियौं र हामी अहिले त्यसकाबारेमा विस्तृतरुपमा बुझ्नेक्रममा छौं ।’

 

ग्लेचरको भनाइअनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका क्रियाकलाप शंकास्पद रहेको पहिचान भएको छ । उक्त खाताहरु फ्रान्सेली र रुसीसँग सम्बन्धित रहेको पाइएको छ ।

 

अमेरिकी मध्यावधि चुनावमा फेसबुकमार्फत् हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ । यो कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको छ । 

रासस र एएफपी

प्रतिक्रिया दिनुहोस्