निर्वाचनको मनोनयन दुई दिन बनाइएकोप्रति ओलीको आपत्ति



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मनोनयन दुई दिन बनाइएकोप्रति आपत्ति जनाएका छन् । साथै उनले निर्वाचन आयोगले निर्वाचन कार्यतालिका बनाउनुपूर्व राजनीतिक दलहरूसँग छलफल नगरेकोमा पनि प्रश्न गरेका छन् । 

केहीबेर अघि पार्टी कार्यालयमा सुरु भएको एमाले पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक दलहरूसँग परामर्श नभएको भन्दै यो तरिका ठिक नभएको बताए । ओलीले भने, ‘केही समयपछि स्थानीय तहको निर्वाचन हुँदैछ । वैशाख ११ र १२ गते मनोनयन हुँदैछ । यसपटक मनोनयन दुई दिन राखियो । यो के का लागि हो रु यो गम्भीर प्रश्न छ ।’

साथै, उनले निर्वाचन आयोगका पदाधिकारीले यस्तो विषयमा राजनीतिक दलहरूसँग छलफल नगरेको बताए । ‘यस्ता विषयहरूमा निर्वाचन अयोगले राजनीतिक दलहरूसँग परामर्श गर्ने गर्थ्यो। यसपल्ट त्यो गरिएन । दुई दिन मनोनयनका लागि समय आवश्यक छैन’, ओलीले भने ।

सत्तारूढ गठबन्धनभित्र झमेला भएको कारणले त्यो मिलाउनका लागि २ दिनको समय लिइएको हुनसक्ने ओलीले बैठकमा नेताहरूलाई बताए । ‘सायद यो गठबन्धनमा झमेला हुनसक्छ । त्यो झमेला मिलाउनका लागि २ दिनको समय दिइएको हो कि ?’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्