काठमाडौंका मिठाई पसलमा अनुगमन



काठमाडौं :   सरकारले तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिएको छ। 

तिहारमा आम उपभोक्ताले अखाद्य बस्तु उपयोग नगरुन् भन्ने उद्देश्यका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंको मिठाई पसलको अनुगमनको कामलाई तीव्रता दिइएको हो । यसै अवसर पारेर मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको दुईवटा मिठाई पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले अनुगमन गरेको छ ।

थापाथलीस्थित आँगन मिठाई पसल र कमलादीस्थित बिगबेल स्विट्समा सचिव जिसी नेतृत्वको टोलीले अनुगमन गरेको हो। अनुगमनका क्रममा ती दुवै पसलको सबै मिठाईको परीक्षण गरी गुणस्तरमा सुधार ल्याउन सचेत गराइएको छ। दुवै मिठाई पसलमा गुणस्तर सुधार गर्न सचेत गराइएको सचिव जिसीले जानकारी दिए । उनले गुणस्तर हेरेर मात्रै मिठाईलगायतका खाद्य वस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराए।

सरकारले खाद्य स्वच्छता अभियान अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ। सचिव जिसीले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन जनशक्ति अभावका कारण नसकिएको पनि स्पष्ट पारे। सरकारले विगत २ महिनायता तरकारी, दूध, मासु, खानेपानी, तेललगायतका दैनिक उपभोग्य खाद्य वस्तुको बजार अनुगमन गरी गुणस्तरहीन खाद्य वस्तु उत्पादकहरूको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ। 

 

प्रतिक्रिया दिनुहोस्