गोठालो कुकुरको कथा 



बझाङ : साइपाल गाउँपालिकाका सुनलाल बोहराका २ सय ६७ वटा भेडा च्याङ्ग्रा छन् । उनले भेडा च्याङ्ग्राको रेखदेख गर्नका लागि दुइ जना सहयोगी गोठाला राखेका छन् । काली र जोनी । यी दुबै कुकुर हुन् । कालीको उमेर ८ वर्ष पुग्यो । जोनी ६ वर्ष । यी दुई आमा छोरा हुन् । 

 

७ वर्ष पहिला हुम्लाको कुनै भेडापालकलाई ५ वटा भेडा दिएर उनले कालीलाई किनेका थिए । जोनी चै कालीले पछि जन्माएको कुकुर हो । उनीहरुको दुवै जनाको काम भेडाको बथानलाई दिनभरी जंगलमा चराउने मात्र हैन हिंस्रक जनावर र चोरहरुबाट सुरक्षा दिने पनि हो । ‘काली निकै टाठो छ । जोनी चै काली भन्दा बलियो छ ।’ सुनलालले भने ‘बथान भरी कति भेडा छन ? र तिनका पाठापाठी कति छन् भन्ने सबै कालीलाई थाहा हुन्छ । जंगलबाट फर्कदा कुनै पाठापाठी बाटैमा छुटे भने कालीले नै सबै भन्दा पहिले पक्ता लगाउँछ ।’

 

भेडापालकहरुको जिवन वर्षभरी जसो जंगलमा नै वित्छ । उनिहरु भेडा चराउँदै बर्खामा साइपाल हिमालको आसपास पुग्छन भने हिउँद याममा हिउँद याममा बझाङका विभिन्न जंगल चाहार्दै बैतडी हुदै डोटी जिल्लाको छपाली, बौलेख र सकाइल सम्म पुग्ने गर्दछन् । भेडा चराउँदै जाँदा जहाँ रात पर्छ त्यही जंगलमा पाल हाल्छन् । र त्यतै बास बस्छन । सुनपालको गोल (भेडाको बथान) मा २ पटक बाघले आक्रमण गर्दा जोनीले बचाएको उनी सम्झन्छन् । 

 

‘डोटीको छपाली भन्ने ठाउँको जंगलमा राती हामीहरु केही कामले गाउँतिर गएका थियौं । पालमा कुकुर मात्र थिए । एक्कासी बाघले आक्रमण गरेछ’ उनले भने ‘जोनीले बाघलाई झम्टेछ । दुवै आधा घण्टा जति लडाई भएपछि दुई कुकुरसँग जित्न नसकेर बाघ भागे छ । हामी आउँदा जोनी रक्ताम्मे भएको थियो । खिप नलगाएको भए बाघले जोनीलाई मारिसक्थ्यो’बाघले आक्रमण गर्दा मार्न नसकोस् भनेर भेडापालकहरुले कुकुरको घाँटीमा फलामको खिप (एकप्रकारको पाता) लगाइदिएका हुन्छन् ।  

 

हुन त उनले २ जना मानिस पनि सहयोगीको रुपमा राखेका छन् । तर दुई वटा कुकुरले ४-५ जना मान्छे गोठालाले गर्न नसक्ने काम गर्ने उनी बताउछन् । ‘यस्ता कुकुर नपाल्ने हो भने भेडा नपाले पनि हुन्छ ।’ उनी भन्छन् ‘राती हामी सुतेका हुन्छौ थाहै पाउन्नौं । चोर आएको जंगली जनावर आएको थाहा पाउने कुकुर नै हो । मान्छेले गर्न नसक्ने धेरै काम यीनीहरुले गर्दछ ।’

सुनपाल मात्र हैन । यस जिल्लाका साविकको काँडा, मेलविसौना, रिलु, मष्टा, कैलास, गडराय, दहवगर, सैनपसेला लगायतका हिमाली गाविसका करिव ४ सय ५० परिवारले ४० हजार भन्दा बढी भेडा च्याङग्रालाइ पालेका छन् । उनीहरु प्रत्येको बथानमा १ देखी ३-४ वटा सम्म कुकुर अनिवार्य हुन्छन् । 

 

भेडापालकहरु कुकुरको रुप रंग, टाठोपन आदी हेरेर किनबेच समेत गर्ने गर्दछन् । नगद भन्दा पनि भेडा च्याङ्गग्रासँग कुकुर साटासाट गरेर किन्ने गरिन्छ । क्षमता हेरेर एउटै कुकुरको लागि १५ वटा सम्म भेडा (मुल्यमा २-३ लाख भन्दा  ) दिएर साट्ने गरेको   कैलासका भेडापालक जंगबहादुर सिंहले बताए । 

 

‘कुकुर हाम्रो सहयोगी मात्र हैन । परिवारको सदस्य पनि हो ।’ उनले भने ‘कुकुर बिना भेडापालन सम्भव छैन । त्यही भएर राम्रो कुकुरको भनेको मुल्यमा किनबेच हुने गर्दछ’ चौबिसै घण्टा कडा पहरेदारी गर्ने र बथानका सबै भेडा च्याङ्गग्राको रेखदेख गर्न सक्ने भोटे कुकुरहरु गुनिला र महँगा हुने उनले बताए । 

 

बझाङका भेडा पालकहरु कुनै कारणले कुकुर अशक्त भएमा वा मरेमा अर्काे कुकुर खोज्नका लागि जिल्ला भित्र मात्र हैन । हुम्ला, दाचुर्ला, मुगु र तिब्बतको ताक्लाकोटसम्म पुग्ने गरेको साइपाल गाउँपालिका अर्का भेडापालक घुरन बोहराले बताए । बझाङको बुडखोरी र धुली क्षेत्रका कुकुरहरु भेडापालकहरुले बढी मन पराउने गरेको उनको भनाई छ । जंगलै जंगलको यात्रामा हुने हुनाले तिहारको बेला घरमा टिका लगाउन नपाए पनि कुकुर तिहारमा कुकुरको पुजा भने बिषेश प्रकारले गर्ने गरेको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस्